कांग्रेसको आन्तरिक संकट चुलियो, वैठक बहिष्कार, विद्यार्थी धर्ना जारी
काठमाडौं । सभापति शेरबहादुर देउवा पक्षले बहुमतका आधारमा विधान पारित गरेपछि नेपाली कांग्रेसभित्र ठूलो संकट उत्पन्न भएको छ । विपक्षी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको बेग्लाबेग्लै खेमाले देउवा पक्षलाई काउन्टर दिन सुरु गरेको छ । दुवै खेमाले बहिष्कार गरेपछि मंगलबार केन्द्रिय समिति बैठक नै बस्न सकेछ ।
‘सभापति देउवाले जिस्काउनाले पनि आजको बैठक बहिष्कार गरिएको हो’¬– रामचन्द्र खेमाका एक केन्द्रिय सदस्यले सनराइज खबरलाई बताए । उनका अनुसार सभापति देउवा अरुबेला निर्धारित भन्दा ढिलो बैठकमा पुग्थे तर आज भने १० बजे नै पार्टी केन्द्रिय कार्यालय पुगेका थिए ।
देउवा पक्षले सोमबारको वैठकबाट बहुमतले पेलेरै विधान पारित गरेको थियो । विधान पारित भएपछि अरुको मुड प्रत्यक्ष हेर्न देउवा पहिले नै कार्यालय पुगेको विपक्षी खेमाका कतिपय नेताहरुले बुझे । त्यसपछि सोमबारको तनावपूर्ण वैठकको आक्रोशलाई निरन्तरता दिँदै पौडेल र सिटौला पक्षले वैठक बहिष्कार गर्यो ।
स्रोत अनुसार पौडेल र सिटौला खेमाले अनुशासन समिति र निर्वाचन समिति एकसाथ गठन हुनुपर्ने र सहमतिमा गठन हुनुपर्ने माग अगाडि सारेको छ । महत्वपूर्ण ठानिएका यी दुई समिति पनि देउवा पक्षले एकलौटी गठन गर्ने देखिएपछि दवाब दिन आजको बैठक बहिष्कार गरिएको बुझिन्छ । यद्यपि, वैठक बहिष्कार गरिए पनि सिटौला र देउवा भने पार्टी केन्द्रिय कार्यालयमै थिए ।
वैठक बहिष्कार गरेर पौडेल सिटौलाको बेग्लाबेग्लै खेमाले नेवि संघको तदर्थ समितिमा पनि हिस्सेदारीका लागि दवाब दिएको बुझिन्छ ।
धर्ना जारी
सोमबार कांग्रेस केन्द्रिय कार्यालयमा कांग्रेस भ्रातृ संगठन नेवि संघको दुई समूहबीच भिडन्त भएको थियो । करिब एक दर्जन कार्यकर्ता घाइते भएका थिए । आज पनि पार्टी केन्द्रिय कार्यालयमा विद्यार्थीहरुले धर्ना र प्रदर्शन गरेका छन् । उनीहरुले नेवि संघको अब समिति गठन हुँदा ३२ वर्ष थोरै उमेर समूहको हुनुपर्ने माग राखेका छन् । तर, पार्टी संस्थापन पक्ष भने नेवि संघको अबको महाधिवेशनमा मात्र ३२ वर्षे उमेर हद लागू हुने भनिरहेको छ ।
नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएसँगै नेवि संघ केन्द्रिय समिति भंग भएको मानिएको छ । भंग भएको समितिको ठाउँमा पार्टी नेतृत्वले नयाँ समिति बनाउने छ र सो तदर्थ समितिले महाधिवेशन गराउने छ । महाधिवेशन गराउने समितिलाई ३२ वर्षे उमेर हद नलाग्ने, महाधिवेशनमा मात्र उमेर हद लाग्ने संस्थापन पक्षको भनाई छ र यही विषयमा विवाद भएर भिडन्तको समेत अवस्था आएको थियो ।
कांग्रेस केन्द्रिय समितिको वैठक गत माघ १० बाट जारी छ र आज वैठक स्थगित भएपछि अर्काे वैठक कहिले बस्ने भन्ने अनिश्चित छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सहमतिमा अर्काे वैठकको मिति तोकिने छ ।


प्रतिकृया दिनुहोस