• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

फेरियाे समाज : हिन्दु बेहुला, मुस्लिम बेहुली

रासस

रासस

बलेवा । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार विवाह दर्ता गरेका हुन् । 

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेकी हुन् । 
दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गरेकी थिइन् । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत पुगेका थिए । केटीका तर्फभने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर आएकी थिइन् । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताएकी छिन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए । 

‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुराएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।” 

कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उनले प्रशंसा गरे । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो । 
 

प्रतिकृया दिनुहोस