• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान

रासस

रासस

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गरेका छन् । मन्त्री ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिन स्वीट्जल्याण्डकाे जेनेभा पुगेका छन् । 

गैरआवासीय नेपाली सङ्गठन र समुद्रपार नेपाली मञ्चका पदाधिकारीसँग आइतबार भएको छलफलमा विदेशमा रहेका नेपालीलाई आफ्नो जन्मभूमि नेपालको विकासमा सघाउन मन्त्री ज्ञवालीले  आग्रह गरेका हुन् । 

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिको उपयोग नेपालको विकासका निम्ति उपयोग गर्न मन्त्री ज्ञवालीले आग्रह गरेका जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ । 

उनले आर्थिक एवम् सामाजिक विकाससहित भौतिक पूर्वाधार निर्माणको दीर्घकालीन योजना र दृष्टिकोण, आगामी चैतमा आयोजना हुने दोस्रो लगानी सम्मेलनको महत्व, लगानीको वातावरण तयार गर्ने सिलसिलामा सरकारले अवलम्बन गरेका कानूनी सुधारका विषय, एकद्वार प्रणालीबाट लगानीकर्तालाई सेवा प्रवाह तथा विशेष आर्थिक क्षेत्र सञ्चालनबारे जानकारी दिएका थिए ।

आजदेखि चैत ११ गतेसम्म हुने परिषद्को उद्घाटन सत्रमा मन्त्री ज्ञवाली सहभागी हुने तथा मङ्गलबार परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त नियोगले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।

प्रतिकृया दिनुहोस