आतंककारी शुक्रबार: ‘केही हुँदैछ’ भन्ने आशंका सरकारलाई पहिले नै थियो
काठमाडौं । देशले ‘आतंककारी शुक्रबार’ भोगेको छ । काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा शुक्रबार आतंकवादी शैलीमा वम विष्फोट तथा आगजनी गराइएको छ ।
यो सबै प्रकरण निक्कै रहस्यम देखिएको छ । मुलुक शान्ति र स्थिरताको अवस्थामा पुगेपछि भएको यो नै सबैभन्दा ठूलो आक्रमण हो । सुरक्षा मामिलाका जानकारहरु शुक्रबार जेजे भयो त्यसलाई ‘घटना’ मात्र मान्न तयार छैनन्, उनीहरुका अनुसार आतंकवादी आक्रमण नै हो ।
शान्तिकाललाई भंग गर्दै गराइएको अशान्तिलाई ‘आतंककारी शुक्रबार’ भन्न सकिन्छ । नेपालमा ठूला र अभिशप्त घटनाहरु शुक्रबार नै हुनु अनौठो संयोग हो ।
यस्तो केही घटना हुनसक्छ भन्ने पूर्वानुमान सरकारले पहिले नै गरिसकेको थियो भन्न सकिने प्रशस्त आधार देखिन्छ । पूर्वानुमान भए पनि सरकारले किन घटना रोक्न सकेन ? प्रश्न उठेको छ ।
ललितपुरमा भएको वम विष्फोटमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । शुक्रबार नै देशका विभिन्न ठाउँमा टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलका टावरहरुमा आगजनी गरिएका छन् । ललितपुरको आक्रमण पनि एनसेल लक्षित थियो ।
शुक्रबार एक दर्जनभन्दा धेरै ठाउँका एनसेल टावरमा आगजनी गरिएको अन्नपूर्ण पोष्टले जनाएको छ । एनसेललाई नै यसरी आक्रमण गरिनुको उद्देश्य केके हुनसक्छ ? यसको खोजी हुन जरुरी देखिएको छ ।
मुख्य कुरा, यो आक्रमण कसले गरायो ? प्रहरीको उच्च तहमा रहेर सेवा निवृत्त भएका एक राजनीतिकर्मीले सनराइज खबरलाई बताए अनुसार यो आक्रमण विप्लव समूहले नै गराएको हो । तर, समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन ।
विप्लव समूहले विगतमा पनि एनसेलमाथि आक्रमण गरेको थियो । विगतमा चन्दा असुल्न र कार्यकर्तालाई फौजी रुपमा प्रशिक्षित गर्नका लागि मात्र विप्लव समूहले आक्रमण गरेको मानिन्थ्यो । तर, यसपटकको आक्रमण त्यो भन्दा वृहत् उद्देश्य राखेर गरिएको आकलन गरिँदैछ ।
यदि विप्लव समूहले आक्रमण गरेको होइन भने कसले गरेको हो ? प्रश्न उठ्छ । यसरी संगठित आक्रमण गर्ने हैसियत विप्लव समूहसँग मात्र रहेको मानिन्थ्यो । उसले गरेको होइन भने नयाँ समूह जन्मिएको बुझ्नुपर्ने हुन्छ ।
ओलीको त्यो भाषण
प्रधानमन्त्री केपी ओलीले केही दिन पहिले सरकार एक वर्ष पुगेको अवसरमा गरेको सार्वजनिक सम्वोधनमा एउटा अस्वाभाविक कुरा उठाए । आगामी चैतमा हुन गइरहेको लगानी सम्मेलन भाँड्न प्रयास भइरहेको छ भने ।
सम्मेलन मुख्यत तीन तरिकाले मात्र भाँड्न सकिन्छ । सरकारले नै नगर्नै भन्यो भने भाँडिन्छ, राजनीतिक रुपमा पनि भाँड्न सम्भव हुन्छ, तेस्रो तरिका हो मुलुकमा सुरक्षा चुनौति उत्पन्न गराएर । र, अहिले सुरक्षा चुनौति उत्पन्न गराउन खोजिएको छ ।
सरकारले उच्च प्राथमिकता दिएर गर्न लागेको कार्यक्रम भाँड्न खोजिँदैछ भनेर प्रधानमन्त्रीले सार्वजनिक सम्वोधनमा भन्नु कि गैरजिम्मेवारी हो, कि साँच्चै नै ठूलो चुनौति आउँदैछ भन्ने हो । ओलीले गैरजिम्मेवार भएर प्याच्च बोलेका होइन रहेछन्, केही आधार भएर नै बोलेका रहेछन् भन्ने ‘आतंककारी शुक्रबार’ले पुष्टि ग¥यो । उनले ‘आतंककारी शुक्रबार’ रोक्न किन सकेनन् भन्ने प्रश्न उठ्छ ।
आतंकको टार्गेट के ?
शुक्रबारको आतंककारी शैलीको आक्रमण अनेक कारणले अर्थपूर्ण छ । विगतमा एनसेलमाथि हुने आक्रमणमा मानिसको ज्यान जाओस् भन्ने नियत देखिँदैनथ्यो । यसपटक भने वम विष्फोट गराएर मानिसको ज्यान लिने उद्देश्य राखिएको देखिन्छ । एक प्रहरी अधिकारीले अनौपचारिक रुपमा सनराइज खबरलाई भने– नक्खुमा जसरी वम विष्फोट गराइएको छ त्यहाँ मानिसको ज्यान लिने नै उद्देश्य देखिन्छ ।
अर्थात्, असुलीका लागि मात्र एनसेलमा आक्रमण गरिएको होइन । एनसेलमा आक्रमण गरे जस्तो गर्ने तर मुलुकमा आतंक फैलाउने नियत राखिएको देखिन्छ । चैतमा हुने लगानी सम्मेललाई प्रभावित गर्ने उद्देश्य ‘आतंककारी शुक्रबार’ भित्र लुकेको देखिन्छ ।
नेपालमा सबैभन्दा ठूलो विदेशी लगानीमध्येको हो एनसेल । त्यसमा आक्रमण गरेर नेपालमा लगानीको वातावरण छैन भनेर देखाउने उद्देश्य त यसमा छ नै । तर, यो नै आक्रमणकारीको मुख्य उद्देश्य नहुन सक्छ । मुख्य उद्देश्य चाहिँ शान्ति र स्थिरताको अवस्थामा आइपुगेको नेपाललाई पुन अस्थिर अशान्त बनाउने हुनसक्छ ।
अर्थात्, शुक्रबारको आक्रमण बहुउद्देश्यीय देखिन्छ ।
‘हाई अलर्ट’
प्रहरीले मातहत निकायलाई ‘हाई अलर्ट’ मा बस्न शुक्रबार राति नै निर्देशन जारी गरेको छ । स्रोत अनुसार गृह मन्त्रालयले पनि आजैबाट ठोस कार्ययोजना बनाएर सशस्त्र प्रहरी र जदपद प्रहरी दुवैलाई हाई अलर्टमा रहन निर्देशन जारी गर्दैछ ।
सुरक्षाका दृष्टिले प्रहरी प्रशासन बल्ल हाई अलर्टमा बस्ने भएको छ । तर, सबैभन्दा हाई अलर्टमा चाहिँ केपी ओली नै रहँदै आएका थिए । मुलुक शान्ति र स्थिरताको अवस्थामा रहेको हुनाले अब सामाजिक अराजकता फैलाउने, घृणा र निरासा फैलाउने प्रयास हुनसक्छ भन्ने आशयको अभिव्यक्ति ओलीले दिँदै आएका थिए ।
प्रधानमन्त्री ओलीले मुलुकको शान्ति र स्थिरतालाई कुनै न कुनै कोणबाट आक्रमण गरिन सक्छ भन्ने आशयको अभिव्यक्ति जसरी बाहिर दिन्थे, भित्र निकटवर्तीहरुसँग पनि अशान्ति र अस्थिरता फैलाइन सक्छ भनेर चिन्ता व्यक्त गरिरहन्थे । ओली निकट नेकपाका एक नेताले बताए– ‘नेपाल स्थिर र शान्त भएको देख्न नचाहनेहरुले केही हर्कत गर्न सक्छन् भनेर चिन्ता गरिरहनुहुन्छ ।’
अर्थात् प्रधानमन्त्री ओली ‘हाई अलर्ट’ थिए ।
‘आतंककारी शुक्रबार’ बाट मुलुकको शान्ति र स्थिरतामाथि ठाडै आक्रमण भएको छ । नागरिकको हत्या गरिएको छ । अब ओली र उनको गृह प्रशासनले कस्तो कदम चाल्छ ? चरम चासोको विषय भएको छ । किनभने ‘आतंककारी शुक्रबार’ फेरि पनि नदोहोरिला भन्न सकिन्न ।


प्रतिकृया दिनुहोस