• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सामाजिक सञ्जाल दर्ताको पक्षमा उभिए योगेश भट्टराई

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपाका सांसद योगेश भट्टराईले नेपालमा फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जालले दर्ता गरेर व्यवसाय गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा सूचना प्रविधि सम्वन्धी विधेयक उपर भएको छलफलमा बोल्दै भट्टराईले सामाजिक सञ्जालहरु आज विश्वमा ठूलो उद्योग व्यवसाय बनेकाले यिनलाई राजश्व र कानूनको दायरामा ल्याइनुपर्ने बताए । 

उनको विचारको सारसंक्षेप :

नेपालमा ९५ लाख मानिस फेसबुकमा छन् । २३ लाख मानिस ट्वीटर चलाइरहेछन् । ३८ लाख मानिसले युट्युब चलाइरहेछन् । जनसंख्याको ६३ प्रतिशतभन्दा धेरै इन्टरनेटको पहुँचमा छन् । सात सय ९२ वटा रेडियो सञ्चालित छन् । आठ सय ६४ वटा पत्रपत्रिका प्रेस काउन्सिलमा दर्ता छन् । सय भन्दा धेरै टेलिभिजन र हजारौंको संख्यामा अनलाइन छन् । 

नेपालबाट वार्षिक १३ अर्ब रुपैयाँभन्दा धेरै फेसबुक कम्पनीले कमाइरहेको छ । फेसबुकको आम्दानी नेपालको बजेट भन्दा डेढगुणा धेरै छ । यसले के देखाउँछ भने सूचना संचार माध्यमहरु सेवा मात्र रहेनन्, यिनीहरु व्यवसाय र उद्योग बनेका छन् । त्यसकारण यसको नियमन र अनुगमन अति आवश्यक छ । 

सूचना प्रविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको मौलिक हक, कर्तव्य, निर्देशक सिद्धान्त, स्वतन्त्रता तथा संचारको हक, सूचनाको हक आदिलाई व्यवस्थित गर्न  ल्याएको छ । सरकारलाई धन्यवाद दिन चाहन्छु । 

यो विधेयकमा सूचना प्रविधि अदालत, राष्ट्रिय सूचना प्रविधि केन्द्र, विद्युतीय अभिलेख, डिजिटल सूचना प्रविधिको व्यवस्थापन, साइबर सुरक्षा सम्वन्धी व्यवस्थापन, सामाजिक सञ्जालको व्यवस्थापन सम्वन्धी विषयहरु विधेयकमा छन्, यो अति आवश्यक छ । 

डाटाको चोरी विश्वमा ठूलो समस्या बनेको छ । डाटाको सुरक्षा देशको सामरिक हितसँग पनि गासिएको छ । अभिव्यक्ति स्वतन्त्रता, विचारको स्वतन्त्रता, प्रेस स्वतन्त्रता जस्ता अधिकारहरु अकुण्ठित छन् । त्यसैले विधेयकले यी कुराहरुलाई सम्मान गरेको छ । 

सामाजिक सञ्जाल दर्ताको विषयमा जनतामा अन्यौल देखिएको छ । हरेक मानिसको फेसबुक ट्वीटर दर्ता गर्नुपर्ने भन्ने अफवाह फैलिएको छ । यो गलत हो, ती कम्पनीले नेपालमा पनि दर्ता गरेर व्यवसाय गर्नुपर्छ भन्ने हो । यस विषयमा सरकारले, मन्त्रीजीले थप प्रष्ट पारिदिनु राम्रो हुन्छ । 

यो विधेयकले नेपाललाई अझ खुला बनाउने, नागरिकको स्वतन्त्रताको हकलाई झन सुरक्षित बनाउन बल पुग्ने छ । नेपाली समाजलाई आधुनिक र सभ्य बनाउन यो विधेयकले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वाश लिएको छु । 
 

प्रतिकृया दिनुहोस