नगद र कर्मचारीको भेट हुनुहुँदैन– सांसद बस्नेत
काठमाडौं । सांसद महेश बस्नेतले कर्मचारी र नगदको भेट हुन नहुने बताएका छन् । उनको भनाइ छ– ‘कर्मचारी र नगदको भेट भएन भने भ्रष्टाचारको अन्त्य हुन्छ ।’
कर्मचारी र नगदको भेट नहुने व्यवस्था कसरी गर्ने त ? यसको पनि उपाय सुझाए बस्नेतले । प्रतिनिधिसभामा सूचना प्रविधि विकेयक उपर भएको छलफलमा बोल्दै बस्नेतले भने– ‘अनलाइन पेमेन्टको व्यवस्था गर्नुपर्छ । सूचना प्रविधि विधेयकमा यो व्यवस्थाको कमी देखियो, अरु दृष्टिले विधेयक राम्रो छ ।’
डिजिटल नेपाल बनाउने नयाँ युगको प्रारम्भ विधेयकले गरेको भन्दै सांसद बस्नेतले डिजिटल सिस्टमबाट सम्पूर्ण प्रशासनिक काम हुँदा ढिलासुस्ती र अनियमितता अन्त्य हुने बताए । विधेयकले डिजिटल हस्ताक्षरको व्यवस्था गरेको तर अनलाइन पेमेन्टको व्यवस्था नगरेकोमा त्यस्तो व्यवस्था थप्न उनले सुझाए ।
बस्नेतले भने– ‘अपराधलाई प्रोत्साहन गर्ने, यौन दुबर््यवहार, गालीगलौज गर्ने, सार्वभौसत्ता र राष्ट्रिय अखण्डतामा धावा बोल्नेहरु, प्रदेशहरुको सम्वन्ध बिगार्नेगरी अफवाह फैलाउनेहरु तथा तमाम अपराध गर्नेहरुलाई यो विधेयकले अपराधको दायरामा समेटेको छ । यो महत्वपूर्ण हो ।’
सोसियल मिडिया दर्ता गर्नुपर्ने व्यवस्थालाई बस्नेतले समयानुकूल भने । सोसियल मिडियालाई राजश्वको दायरामा ल्याउने कुरा विधेयकले व्यवस्थित ढंगले ल्याएको भन्दै उनले सूचना प्रविधि अदालतको व्यवस्था राखिनुलाई अग्रगामी दृष्टिकोण भने ।


प्रतिकृया दिनुहोस