• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सामाजिक सञ्जालमा बोल्न लेख्न पाइन्छ तर असामाजिक बन्न पाइँदैन : मन्त्री बाँस्कोटा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । ‘अब फेसबुक टुइटर चलाउन पाइँदैन, चलाउने हो भने हरेक व्यक्तिले सरकारमा दर्ता गर्नुपर्छ’– केही समयदेखि फैलाइन थालेको यस्तो अफवाहले संचार मन्त्री गोकुल बाँस्कोटालाई पनि आजित बनाएको रहेछ । यो अफवाहको खण्डन गरिदिन मन्त्री बाँस्कोटाले संचारकर्मीहरुको सहयोग मागेका छन् । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने– ‘हरेक मानिसले फेसबुक, ट्वीटर, इन्स्टा, इमो दर्ता गर्नुपर्छ भनेर हल्ला चलाइएको छ । यो हुँदै होइन, यति झुठ हल्लाको पछि नलाग्नुस् ।’

फेसबुक ट्वीटर चलाउन पाइँदैन यूट्युब नै हेर्न पाइँदैन भनेर प्रचार गरिएकाे तर त्यस्ता प्रचार साेह्रै आना गलत भएकाे उनले बताए ।

उनले भने– ‘यस्ता गलत कुराको विरुद्धमा सहि कुरा के हो भनी जनतालाई बुझाईदिन म संचारकर्मीहरुसँग विनम्र आग्रह गर्दछु । मैले सहयोग मागिन भन्नुहुन्छ, ल मैले यही सहयोग मागें, यो गलत कुरा विरुद्ध सही कुरा जनतामा लगिदिनुहोला ।’

संचारमन्त्री बाँस्कोटाले हरेक मानिसले सामाजिक संजालको आफ्नो आइडी दर्ता गर्नुपर्छ भनेर चलिरहेको हल्लाको स्रोत चाहिँ सरकारले नै ल्याएको ‘सूचना प्रविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हो । विधेयकमा फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल कम्पनीले नेपालमा आफ्नो व्यवसाय तथा उपस्थिति दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यही व्यवस्था नबुझेर तथा बुझेर पनि नबुझेजस्तो गरी अफवाह फैलन पुग्यो । 

किन हो त सामाजिक संजाल दर्ता गर्नुपर्यो ? मन्त्री बाँस्कोटले प्रष्ट्याए– ‘विश्वका सबैजसो देशले आआफ्नो देशमा यस्ता सामाजिक संजालहरु दर्ता गर्नुपर्ने व्यवस्था गरेका छन् । नेपालले पनि त्यस्तै गर्न खोजेको हो ।’

सामाजिक संजालहरुले नेपालमा व्यवसाय गरेर ठूलो रकम विदेश लगिरहेको भन्दै बाँस्कोटाले भने– ‘व्यापारको मात्र कुरा होइन, कसैले कसैले यस्ता सामाजिक सञ्जाहरु मार्फत् देशद्रोही ढंगको कुनै आव्हान गर्यो भने  नेपालले कहाँ कम्प्लेन गर्ने ?’ 

विदेशका सामाजिक सञ्जालहरुले अरु देशमा जस्तै नेपालमा पनि दर्ता भएर व्यवहार तथा व्यापार गर भन्नु ठिक हो भन्दै उनले भने– ‘यसो गर्दा अभिव्यक्ति स्वतन्त्रता हनन गर्न खोज्यो भन्नु भयानक भुल हुनेछ ।’ 

उनले भने– ‘यो देश जहाँ जसले जे पनि गर्न पाउने परेड मैदान हो ? न यो उत्तर कोरिया हो न दक्षिण कोरिया हो, यो नेपाल हो । नेपालमा सरकारले नागरिक अभियकार कुण्ठित हुने गरी केही पनि गर्दैन ।’
 
सामाजिक सञ्जालको गलत प्रयोगले व्यक्तिलाई आत्महत्यासम्मको अवस्थामा पुराएको भन्दै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा बोल्न लेख्न पाइन्छ, विचार राख्न पाइन्छ तर असामाजिक बन्न पाइँदैन, अरुलाई हानी नोक्सानी पुराउन र चरित्र हत्या गर्न पाइँदैन भने । 

‘हामीले अहिलेसम्म सूचना प्रविधि र सामाजिक संजालहरु सम्वन्धमा जे जति अभ्याश गर्यौं, त्यस आधारमा विधेयक तयार गरिएको छ’– उनले भने । 

‘फेसबुक टुइटर लगायतका सामाजिक सञ्जाल व्यक्तिव्यक्तिले दर्ता गर्नुपर्ने हो कि भने जसरी प्रचार गरिएको छ, यो सर्वथा गलत हो’– मन्त्री बाँस्कोटाको भनाइ थियो ।    

‘इन्टरनेटको दुरुपयोग हाइडोजन बमभन्दा कम हुँदैन । सूचना प्रविधि तथा सामाजिक संञ्जालहरुले मानिसको मष्तिष्कमा विष पनि जन्माउन सक्छ, प्रेम नै प्रेम पनि जन्माउन सक्छ’– उनले अगाडि भने– ‘सूचना प्रविधिको बढ्दो प्रयोग नै रोक्नछेक्न लाग्यो भनेको पनि सुनिन्छ । सरकारको त्यो उद्देश्य होइन ।’

उनले भने– ‘गालीगलौज गर्न नपाउने व्यवस्थालाई इनोभेसन रोक्न खोज्यो भन्न मिल्दैन । बालबच्चा बिग्रने, हिँसा हुने, पोर्नाेग्राफी फैलाउने कन्टेन्ट रोक्न पर्छ कि पर्दैन ?’ 

विधेयकले प्रेस स्वतन्त्रता हनन हुन्छ भनी व्याख्या विश्लेषण गर्नुहुन्छ भने आफैंप्रति धोका हुन्छ भन्दै मन्त्री बाँस्कोटाले भने– ‘जुन कुरा भविष्यमा प्रमाणित हुँदैन र हुनेवाला पनि छैन, दुई दिनको मनोरञ्ज लिएर पाना भर्नु, भित्ता भर्नु, विभिन्न क्रियाप्रतिक्रिया दिनुको के अर्थ हुन्छ ? हुँदै नभएको कुरालाई हो कि भने जसरी प्रचार गरेर भ्रम उत्पन्न गराउन खोजिएको छ ।’
 

प्रतिकृया दिनुहोस