• २६ असोज २०८३, सोमबार
  • Monday,12 October,2026

विकसित देशको प्रशंसा मात्र होइन, देश निर्माण गर्ने चिन्तन आवश्यक

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं ।  नेपाल–चीन सम्बन्धलाई नयाँ सिराबाट विकास गर्नुपर्नेमा विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन्। चीनमा अध्ययन गरिरहेका र अध्ययन सकेर स्वदेश फर्किएका विद्यार्थीहरूले यस अभियानको अगुवाइ गर्नुपर्ने उनीहरूको भनाइ छ।

नेप्लिज स्टुडेन्ट अर्गनाइजेसन (एनएसओ चाइना) ले भक्तपुरको दधिकोटस्थित काठमाडौं स्कुल अफ लको सभाहलमा आयोजना गरेको ‘नेपाल–चाइना एजुकेसन कनेक्टिभिटी २०२६’ कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विकसित देशहरूबाट नेपालले धेरै कुरा सिक्न आवश्यक रहेको बताए। उनले सुशासन, विकासलगायत विभिन्न पक्षमा सिकेका अनुभवलाई आत्मसात् गर्दै नेपालको आवश्यकता र परिस्थितिअनुकूल कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर झोउ पनले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउन चीन सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

नेपालका लागि पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले नेपाली विद्यार्थीहरूले युरोप र अमेरिकाभन्दा चीनमा गएर अध्ययन गर्नुपर्नेमा जोड दिए। युरोप र अमेरिकामा अध्ययन गर्न गएका विद्यार्थी उतै बस्ने सम्भावना बढी हुने, तर चीनमा अध्ययन गरेका विद्यार्थी नेपाल फर्कने अवस्था रहने उनको तर्क थियो।

नेपालका लागि पूर्वराजदूत डा. महेशकुमार मास्केले आगामी दशकमा चीन कहाँ पुग्न सक्छ भन्ने विषय उल्लेख गर्दै नेपालीहरूले चीनको प्रशंसा गरेर मात्र बस्नुभन्दा चीनले कसरी विकास गर्‍यो भन्ने कुराको गहिरो अध्ययन र मनन गर्नुपर्ने बताए।

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्रा. डा. संग्रौलाले नेपालीहरूको मनोविज्ञान र कार्यशैलीमा परिवर्तन नआएसम्म अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन र देश निर्माण गर्नसमेत कठिन हुने बताए। उनले चीनको प्रविधि नेपाल भित्र्याउने र नेपालको उत्पादन चीनमा निर्यात गर्ने विषयमा बहस केन्द्रित हुनुपर्नेमा जोड दिए। चीनमा अध्ययन गरेका, चीनमा अध्यापन गराउने र चीनलाई नजिकबाट बुझेका व्यक्तिहरूको मञ्च स्थापना गरी सरकार र चीनसमक्ष स्पष्ट धारणा राख्नुपर्ने उनको भनाइ थियो।

लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले चीनलगायत छिमेकी तथा मित्रराष्ट्रहरूसँग माग्ने मात्र नभई नेपालले दिन सक्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए। नेपालले सधैँ सुनको कचौरा बोकेर मागिरहेको टिप्पणी गर्दै उनले सहयोग लिने मात्र नभई आफ्ना सम्भावना र योगदानका क्षेत्र पहिचान गर्नुपर्ने आशय व्यक्त गरे।

नेपाल र चीनबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए। शैक्षिक अवसरहरूको विस्तार गर्नुका साथै दुवै देशबीच ज्ञान, अनुभव र सीपको आदानप्रदानलाई प्रवर्द्धन गर्नुपर्ने उनीहरूको भनाइ थियो।

नेप्लिज स्टुडेन्ट अर्गनाइजेसन (एनएसओ चाइना) का संस्थापक बोर्ड अध्यक्ष मनोजकुमार भट्टले नेपाल–चीन सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउन शैक्षिक सहकार्य तथा युवा पुस्ताबीचको सम्बन्ध विस्तार महत्त्वपूर्ण रहेको बताए।

एनएसओ चाइनाले चीनमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई निःशुल्क परामर्श प्रदान गर्ने, विद्यार्थीहरूलाई संगठित गर्ने, चीनको प्रविधि र नेपालको विकासबारे अध्ययन तथा अनुसन्धान गर्ने र देश निर्माणमा योगदान पुर्‍याउनेलगायतका महत्त्वपूर्ण लक्ष्य लिएको छ।

प्रतिकृया दिनुहोस
↑