• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

एमाले–नेकपाबीच सातै प्रदेशमा सरकार गठन गर्ने सहमति

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ।
दुवै दलले प्रदेश सभामा पछिल्लो समय बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यसहित सहमति गरेका हुन्।


सहमतिअनुसार प्रदेश सभामा दुवै दलले सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। सरकारको नेतृत्व कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ।


यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।
उक्त सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। सहमति २०८३ साल साउन ९ गते गरिएको हो।

प्रतिकृया दिनुहोस