ओली–देउवालाई गाली गरेर राजनीति गर्ने युग सकियो
काठमाडौं। नेपालमा केही वर्षअघिसम्म एउटा अनौठो राजनीतिक प्रवृत्ति स्थापित भएको थियो। राजनीतिक एजेन्डा, विचार, नीति, योजना वा कार्यसम्पादनभन्दा पनि कसलाई कति कडा शब्दमा गाली गर्न सकिन्छ भन्ने कुराले लोकप्रियता निर्धारण गर्न थालेको थियो। विशेषगरी एमाले अध्यक्ष र तत्कालिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्ष्य बनाएर आलोचना गर्नेहरू रातारात चर्चामा पुग्ने अवस्था सिर्जना भएको थियो। सामाजिक सञ्जालदेखि सडकसम्म, टेलिभिजन बहसदेखि सार्वजनिक सभासम्म एउटै प्रवृत्ति हाबी थियो—जसले ओली र देउवालाई बढी गाली ग¥यो, उही परिवर्तनको प्रतीक बन्यो।
त्यतिबेला धेरैले यही बाटो रोजे। स्थापित दलका कमजोरीलाई देखाउनु लोकतन्त्रमा स्वाभाविक विषय हो। तर आलोचनाको नाममा निरन्तर नकारात्मकता फैलाउने, सरकारले गरेका हरेक काममा खोट मात्र खोज्ने र जनतामा निराशा बेच्ने शैली नै राजनीतिक सफलताको सर्टकट बन्यो। कुनै काम राम्रो भए पनि राम्रो भन्न नहुने, जसरी भए पनि दोष निकाल्नै पर्ने प्रवृत्ति मौलायो। त्यो समयको राजनीतिक वातावरण नै त्यस्तो बनाइएको थियो। युवा उचालिएको थियो ।
यही परिवेशलाई सबैभन्दा राम्रोसँग बुझेका व्यक्तिहरूमध्ये रास्वपा सभापति रवि लामिछाने र रास्वपाकै वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह पनि हुन् । रवि लामिछानेले स्थापित दलविरुद्ध तीव्र आक्रोश व्यक्त गरे। एमाले र कांग्रेसमाथि निरन्तर प्रश्न उठाए। खेदो नै खने । केपी शर्मा ओली, शेरबहादुर देउवा र गगन थापालाई राजनीतिक असफलताको मुख्य पात्रका रूपमा प्रस्तुत गरे। जनतामा रहेको असन्तुष्टिलाई आफ्नो राजनीतिक पूँजी बनाए। परिणामस्वरूप उनीहरु राजनीतिमा छोटो समयमा नै स्थापित भए। उनीहरुको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता पनि प्राप्त ग¥यो।
यता बालेन शाहले पनि चुनावअघि र चुनावपछि स्थापित राजनीतिक दलको कार्यशैलीमाथि तीव्र आलोचना गरे। उनले पुराना दलले देश बिगारेको, विकास रोकेको र नयाँ सोच आवश्यक रहेको सन्देश निरन्तर दिए। जनताले पनि परिवर्तनको चाहनामा उनलाई साथ दिए। उनी स्वतन्त्र उम्मेदवार भएर पनि काठमाडौं महानगरपालिकाको प्रमुख बनेर हाल प्रधानमन्त्री सम्म वनेका छन् । त्यो समय जनमतको दिशा नै परिवर्तनतर्फ थियो। त्यसैले पुराना दलमाथि जति आक्रामक प्रहार ग¥यो, त्यति नै लोकप्रियता बढ्ने अवस्था देखियो। त्यही भएको पनि थियो ।
तर राजनीति सधैं एउटै अवस्थामा रहँदैन। समयसँगै जनताको सोच बदलिन्छ। सुरुमा नाराले प्रभाव पार्न सक्छ, तर लामो समयसम्म परिणामले मात्र विश्वास जित्न सक्छ। यही कारण अहिले राजनीतिक वातावरण पहिलेजस्तो छैन। जनताले केवल गाली सुन्न चाहेका छैनन्। उनीहरू कामको नतिजा हेर्न चाहन्छन्। आलोचना होइन, समाधान खोज्न चाहन्छन्। आरोप होइन, उपलब्धि हेर्न चाहन्छन्। त्यसैको परिणा अहिले गालि गरेर असन्तोषको विउ रोपेर उदाएकाहरुको रुवावासी भएको छ ।
यसै कारण अहिले केपी शर्मा ओली वा शेरबहादुर देउवालाई गाली गरेर मात्र राजनीतिक उचाइ हासिल गर्ने अवस्था कमजोर बन्दै गएको देखिन्छ। सामाजिक सञ्जालमा केही समय चर्चा पाइए पनि त्यसले दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित गर्दैन। बरु जनताले अहिले उल्टै प्रश्न गर्न थालेका छन्—“गाली त धेरै गरियो, अब काम के भयो ?“
रवि लामिछानेको राजनीतिक यात्राले पनि यही सन्देश दिन थालेको देखिन्छ। जनताले उनलाई ठूलो आशा र विश्वासका साथ संसदमा पठाए। नयाँ राजनीतिक संस्कृतिको अपेक्षा गरे। तर समयसँगै उनीमाथि पनि जनताको अपेक्षा बढ्यो। गाली गरेर स्थापित भएको नेतृत्वले अब परिणाम देखाउनुपर्ने जिम्मेवारी आयो। परिणाम अपेक्षाअनुसार देखिन नसक्दा जनआकर्षण पहिलेको जस्तो बलियो नरहेको विश्लेषण हुन थालेको छ।
बालेन शाहको हकमा पनि अवस्था उस्तै देखिन्छ। काठमाडौं महानगरका केही कामको प्रशंसा भए पनि धेरै विषयमा विवाद, आरोप–प्रत्यारोप र केन्द्र सरकारसँगको टकरावले चर्चा पायो। प्रधानमन्त्रीको रुपमा पनि उनको काम त्यस्तै छ । जनताले अहिले उनीबाट पनि केवल विरोध होइन, दीर्घकालीन समाधान र प्रभावकारी व्यवस्थापनको अपेक्षा गरिरहेका छन्। तर आशा मात्र पनि पाउन सकेका छैनन् । लोकप्रियताको आधार अब भाषण होइन, कार्यसम्पादन बन्न थालेको छ।
नेपालको राजनीतिमा अर्को रोचक पक्ष पनि देखिन्छ। केही वर्षअघि धेरै नेताले आफ्नो राजनीतिक उचाइ निर्माण गर्न केपी शर्मा ओलीसँग निकटता देखाउने प्रयास गर्थे। उहाँसँगको सम्बन्धलाई अवसरका रूपमा प्रयोग गर्ने प्रयास हुन्थ्यो। समय फेरिएपछि त्यही नेताहरूले राजनीतिक लाभका लागि ओलीमाथि नै सबैभन्दा बढी आक्रमण गर्न थाले। परिस्थितिअनुसार धार परिवर्तन गर्ने यो प्रवृत्ति नेपाली राजनीतिमा पटक–पटक देखिएको विषय हो।
राजनीतिक इतिहास हेर्दा नेपालमा समय–समयमा राजनीतिक प्रवृत्ति परिवर्तन हुँदै आएको पाइन्छ। कुनै बेला आन्दोलनको राजनीति हाबी भयो। त्यसपछि गठबन्धनको राजनीति आयो। त्यसपछि सामाजिक सञ्जालको प्रभाव बढेसँगै आक्रोशको राजनीति अगाडि आयो। अहिले भने विस्तारै उत्तरदायित्वको राजनीतितर्फ समाज अघि बढ्न खोजिरहेको संकेत देखिन्छ। जनताले अब भाषणभन्दा बजेट, नाराभन्दा नीति र आलोचनाभन्दा उपलब्धि खोज्न थालेका छन्।
आजको मतदाता पहिलेभन्दा धेरै सचेत छ। सामाजिक सञ्जालले सूचना सजिलै उपलब्ध गराएको छ। कुनै नेताले बोलेका कुरा र गरेका कामबीचको अन्तर जनताले सजिलै तुलना गर्न सक्छन्। त्यसैले अब केवल अरूलाई असफल देखाएर आफू सफल बन्ने रणनीति धेरै समय टिक्न सक्दैन। आफ्नो क्षमता, योजना र परिणाम प्रस्तुत गर्न नसक्ने नेतृत्वलाई जनताले लामो समयसम्म स्वीकार गर्दैनन्।
यसको अर्थ आलोचना आवश्यक छैन भन्ने होइन। लोकतन्त्रमा सरकारको आलोचना हुनुपर्छ। सत्तालाई प्रश्न गर्नुपर्छ। कमजोरी औँल्याउनुपर्छ। तर आलोचना तथ्यमा आधारित हुनुपर्छ, समाधानमुखी हुनुपर्छ र जनहित केन्द्रित हुनुपर्छ। केवल गाली गरेर वा लोकप्रिय हुनका लागि आरोप लगाएर राजनीतिक भविष्य सुरक्षित हुने समय अब विस्तारै समाप्त हुँदै गएको देखिन्छ।
आजको नेपालमा राजनीति गर्ने नयाँ सूत्र स्पष्ट बन्दै गएको छ। जनताले अब कसले कसलाई गाली ग¥यो भनेर होइन, कसले देशका लागि के ग¥यो भनेर मूल्यांकन गर्न थालेका छन्। यही परिवर्तनलाई बुझ्ने नेतृत्व आगामी दिनमा सफल हुनेछ। नबुझ्नेहरू केही समय चर्चामा आए पनि जनविश्वास कायम राख्न कठिन हुनेछ।
यसैले भन्न सकिन्छ—नेपालको राजनीतिमा केपी शर्मा ओली वा शेरबहादुर देउवालाई गाली गरेर मात्र चम्किने युग विस्तारै अन्त्यतिर पुगेको छ। अब गाली होइन, परिणाम बोल्ने समय आएको छ। गफ नगरि काम गर्ने केपी र शेरवहादुरहरुको चर्चा हुन थालेको छ । आज देशमा समस्या हुँदा पुन केपी ओली खोज्न थालेका छन् । केपी ओलीलाई गाली गरेर उदाएकाहरुको विश्वास क्रमस कम हुन थालेको छ ।


प्रतिकृया दिनुहोस