‘डलर साट्ने’ बहानामा दुई लाख ५० हजार ठग्ने समातिए
काठमाडौं । ‘डलर साट्ने’ बहाना बनाएर दुई लाख ५० हजार रुपैयाँ ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका रामबहादुर तामाङलाई प्रहरीले पक्रेकाे छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले उनलाई शनिबार बनेपा नगरपालिका–८ स्थित तीनदोबाटो चोकबाट पक्रेकाे हो ।
रामबहादुरले ‘डलर साट्ने बहाना’ बनाई बिमला गुरुङलाई बनेपाको शुभकामना हल नजिक बोलाएर दुई लाख ५२ हजार रुपैयाँ ठगेको बनेपाका इन्स्पेक्टर योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
यसरी ठगे
२७ कार्तिक ०७६ को बिहान शुभकामना हलको दक्षिण तर्फ रहेको होटलमा रामबहादुरले फोन गरेर बिमला गुरुङलाई बोलाउँछन् । केही समयको छलफल पछि रामबहादुरले ‘आज ५५ सय डलर साटौं मलाई नेपाली पाँच लाख रुपैयाँ दिनुहोस्’ भनेर बिमलालाई प्रस्ताव गर्छन् ।
बिमलाले आफूसँग पाँच लाख रुपैयाँ नभएको र नेपाली दुई लाख ५० हजार रुपैयाँ मात्र रहेको बताउँछिन् । अनि, रामबहादुर भन्छन्– ‘अहिलेलाई तपाईसँग भएको रुपैयाँ दिनुहोस् ।’
विमलालाई प्रलोभनमा पारेर दुई लाख ५० हजार नेपाली रुपैयाँ र गाडीभाडा दुई हजार रुपैयाँ लिएर रामबहादुर फरार हुन्छन् ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–३ घर भएका ५४ वर्षीय रामबहादुरलाई पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान भईरहेको इन्सपेक्टर तिमल्सिनाले सनराइज खबरलाई बताए ।
सिन्धुपाल्चोक बाह्रविसे घर बताउने ४२ वर्षीय तिलक बहादुर तामाङ र उदयपुर गाईघाट बस्ने ३५ वर्षीय शर्मिला दमाई समेतको मिलेमतोमा रामबहादुरले यसअघि पनि ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ललितपुर गोदावरी नगरपालिका–११ बस्ने नवराज नगरकोटीलाई उनीहरुले ‘डलर साट्ने’ र त्यसबाट राम्रो फाईदा हुने प्रलोभन देखाएर ५ लाख रुपैयाँ ठगी गरेको घटना पनि अनुसन्धान भइरहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस