• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अमेरिकी दूतावासको परिचयपत्र देखाएर ठग्ने पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासमा ‘कार्यरत हूँ’ भन्दै परिचयपत्र देखाएर ठग्ने केदार खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई बिहीवार पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

सिन्धुपाल्चोक घर भएका खड्का दुतावासका कर्मचारी भने होइनन् । तर, ‘अमेरिका सपना’ साँचेर बसेकाहरुलाई उनले ‘अमेरिकामा हुने कन्फरेन्समा पठाइदिन्छु’ भन्दै ठग्ने गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् । 

केदारबाट पीडित १० जनाले महाशाखामा ठगीको जाहेरी दिएका छन् । अमेरिकामा हुने सम्मेलनमा सहभागी हुन जहाजको टिकट र भिसा शुल्क वापत भन्दै उनले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म ठगी गर्ने गरेको पीडितहरुले बताएका छन् । 

काठमाडौंको थलीमा बस्ने केदारलाई ठगीमुद्दामा यसअघि ०१५ सालमा केन्द्रीय अनुुसन्धान व्यूरोले पक्राउ गरेर कारवाही गरेको थियो । त्यहाँबाट छुटेपछि उनले फेरि ठगीधन्दा थालेका छन् । 

सर्वसाधारणलाई विश्वासमा पार्न उनले अमेरिकी दूतावासको ‘कार्यकारी अधिकृत’को परिचयपत्र देखाउने गरेका थिए । उनले देखाउने गरेको परिचयपत्र नक्कली भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

अमेरिकामा हुने सम्मेलनमा जान चाहनेहरुलाई केदारले सम्मेलन सकिएपछि दूतावासले ४५ सय डलर फिर्ता दिने बताउँदै प्रलोभनमा पार्ने गरेका थिए । 

प्रतिकृया दिनुहोस