महिला हवल्दार बलात्कारकाे अभियाेगमा पक्राउ परे असई
काठमाडौं । एक महिला हवल्दारलाई बलात्कार गरेको आरोप लागेपछि नेपाल प्रहरीका सहायक निरीक्षक (असई) राजिन्द्र राईले राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईले दिएको राजीनामा गत मंसिर १ मा स्वीकृत भएकाे बताइएकाे छ । तर, उनी बलात्कार मुद्दाबाट भने बच्न सकेनन् ।
महिला सहकर्मी बलात्कार अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको छ । उनी पूर्व उद्योगमन्त्री अनिल झाको निजी सुरक्षागार्ड (पिएसओ) को रुपमा कार्यरत थिए ।
‘बलात्कार अभियोगमा अवकासप्राप्त प्रहरी सहायक निरीक्षकलाई हामीले पक्राउ गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले सनराइज खबरसँग भने– ‘अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।’
ती महिला हवल्दारले कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी छिन् । उनले अाफूलाई काठमाडौंको रानीबारीमा राजिन्द्रले गत साउनमा बलात्कार गरेको जाहेरी दिएकी छिन् । त्यसबेला राजिन्द्रले राजीनामा दिएका थिएनन् । बलात्कारकाे अभियाेगबाट बच्नकै लागि उनले राजीनामा दिएकाे दावी गरिएकाे छ ।
महिला तथा बालवालिका सेवा केन्द्रले सो घटनाकाे अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस