भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार
नवलपरासी । छ महिनादेखि भारतमा बन्धक बनाएर राखिएका दुई नेपाली युवतीको उद्धार गरिएको छ ।
पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।
आफ्ना छोरीलाई बन्धक बनाएर राखिएकाे भन्ने युवतीकी आमाको उजुरीका आधारमा बिहीबार राति उनीहरुकाे उद्धार गरिएकाे हाे । उनीहरुलाई उद्दार गरेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उद्धार गरिएका दुई युवती दिदीबहिनी हुन् ।
नवलपरासीको बर्दघाटका उनीहरुलाई एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको बताइएकाे छ । त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिएकाे, अर्केष्ट्रामा नाँच्न लगाएकाे र घरमा आउन नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले बताइन् ।
घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । ‘युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ’, उनले भने ।


प्रतिकृया दिनुहोस