टायरको रगतले पत्ता लाग्यो साँखुमा प्रविणको ज्यान लिने ट्रिप्पर
काठमाडौं । साेमबार राति पौने १० बजे महानगरीय प्रहरी प्रभाग साँखुका इन्स्पेक्टर गोविन्द पन्थीलाई खबर आयो– ‘धुल्लाटोलमा ट्रिप्परले मान्छे हानेर भाग्यो ।’
इन्सपेक्टर पन्थी तत्काल घटनास्थल काठमाडौंको शंखरापुर नगरपालिका–७ धुल्लाटोल पुगे । त्यहाँ ट्रिप्परकाे ठक्करबाट प्रविण श्रेष्ठकाे अाधा प्राण गइसकेकाे थियाे ।
४२ वर्षीय प्रविणको अवस्था ह्रदयविदारक थियो । शंखरापुर–६ घर भएका उनलाई प्रहरीले सुस्मा कोइराला मेमेरियल अस्पताल पुर्यायो । डाक्टरले उनलाई मृत घोषणा गरे ।
प्रविणकाे ज्यान लिने ट्रिप्पर घटनास्थलबाट भागिसकेकाे थियाे । घटनास्थल वरिपरिका मानिसहरुले पनि ट्रिप्परकाे नम्बर हेर्न भ्याएका थिएनन् । प्रविणकाे ज्यान लिने ट्रिप्पर कसरी पत्ता लगाउने ? प्रहरी रनभुल्लमा पर्याे ।
मध्यरातको त्यो अप्रेशन
राति नै प्रहरीले ट्रिप्पर पत्ता लगाउन विशेष अप्रेशन थाल्याे । प्रहरीले साँखुबाट नगरकोट तर्फ जाने कात्तिके र जहरसिंह पौवा नाका सिल गर्यो ।
‘त्यो एरियामा तीनवटा ट्रिप्पर भेटिए’ साँखुका इन्स्पेक्टर पन्थी सनराइज खबरसँग भन्छन्– ‘हामीले सब ट्रिप्पर नियन्त्रणमा लिएर अनुसन्धान थाल्यौं । कसैले पनि प्रविणलाई ठक्कर दिएको स्वीकार गरेनन् ।'
प्रविणका हत्यारा ट्रिप्पर पत्ता लगाउन सजिलाे नहुने देखियाे । तर, साँखुकाे प्रहरी टाेली निरास भएन ।
त्यसपछि प्रहरीले साे क्षेत्रमा कति ट्रिप्पर चलेका थिए भनी केही ठाउँमा राखिएका सिसिटिभी फुटेज हेर्न थाल्याे ।
सिसिटिभी फुटेज हेर्दा ना१च ४५६४ नम्बरको ट्रिप्परतिर शंकाको सुई मोडियो । प्रहरीले साे ट्रिप्पर शंखरापुर–७ को पुखुलाछीमा फेला पार्याे ।
मध्यरात भइसकेकाे थियाे । प्रहरीले ट्रिप्परकाे सबैतिर जाँच गर्याे । मानिस मारेर भागेकाे कुनै लक्षण देखिएन । तर, साँखु प्रहरीकाे टाेलीले लापरवाही गरेन । टर्च लाइट र माेबाइल फाेनकाे लाइट बालेर उनीहरुले ट्रिप्परकाे सर्वत्र अाँखा गाडे । टायरमा केही देखियाे । टायरकाे खाेपिल्टामा रगत लागेकाे देखियाे । सडकमा धेरै बेर ट्रिप्पर गुडाउँदा पनि टायरमा लागेकाे रगत मेटिएकाे थिएन ।
‘टर्च बालेर टायर चेक गर्दा ट्रिप्परकाे चक्का तथा छेउछाउमा रगत देखियो’ इन्स्पेक्टर पन्थी भन्छन्– ‘हामीले राति नै चालक साेम तामाङलाई नियन्त्रणमा लियाै ।’
ट्रिप्पर चालक साेम सिन्धुपाल्चोकका हुन् । प्रहरी समक्ष उनले भने- 'मैले पैदल यात्रुलाई देखिँन । ठक्कर दिएपछि मात्र थाहा पाएँ । त्यसपछि भागें ।'


प्रतिकृया दिनुहोस