• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सुतैकै ठाउँमा मृत भेटिए कैदी

रासस

अछाम । अछाम जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् । 

मंगलबार बिहान ढिलोसम्म उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शव परीक्षण गरिने जनाइएको छ ।

मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

कर्तज्य ज्यान मुद्दामा ०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र  जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए ।
 

प्रतिकृया दिनुहोस