प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम
रामेछाप । धुलो धुवाँमा उभिएर रातदिन ड्युटी गर्ने प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
.jpg)
प्रहरीको सो समस्या समाधानको लागि चिकित्सालयले तीन दिने नस्यकर्म कार्यक्रम सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापमा बुधबारबाट कार्यक्रम सुरु भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले जानकारी दिनुभयाे।

कार्यक्रम अन्तर्गत प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्ने श्वासप्रश्वास सम्बन्धी विभिन्न योग कर्मको अभ्यास गराइने उहाँले बताउनुभयाे ।
लामो समयसम्म उभिँदा ढाड, कम्मर र गोडामा आउने स्वास्थ्य समस्या समाधानका लागि विभिन्न योग गराइने उहाँले बताउनुभयाे । ‘आयुर्वेदको महत्त्वपूर्ण नस्यकर्म नाकमा औषधी हाल्ने प्रक्रिया गराउँछौँ, नाक र श्वासप्रश्वासको समस्या समाधानको लागि नेतीकर्म पनि गराउँछौँ’, उहाँले भन्नुभयाे।
.jpg)
सो अभ्यासमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंह, प्रहरी निरीक्षक लगायत अधिकृत तथा लामो समय ड्युटी गर्ने ट्राफिक प्रहरीहरू लगायतका सहभागिता रहेको छ । नसर्ने रोगका लागि आयुर्वेदिक उपचार पद्धति निक्कै प्रभावकारी हुने बताउँदै रामेछापका प्रहरी प्रमुख सिंहले यसले ड्युटी गर्ने प्रहरीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।


प्रतिकृया दिनुहोस