• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अजयबाबुको प्रश्न– रोशनी शाही सजायको भागिदार बन्ने कि नबन्ने ?

सनराइज खबर संवाददाता

काठमाडौं । बलात्कार प्रयासको अभियोग लागेका कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएपछि अजयबाबु शिवाकोटी भन्छन्– ‘अदालतको फैसला पनि मेरा लागि त्यस्तै समाचारको विषय हो, जसरी रोशनी शाहीले कृष्णबहादुर महरालाई लगाएको आरोपलाई मैले समाचार बनाएँ ।’

महरामाथि लागेको अभियोगका दुई सूत्रधार थिए– रोशनी शाही र अजयबाबु शिवाकोटी ।

अजयबाबु हाम्राकुरा डटकमका सम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव हुन् । १४ अजोज २०७७ का दिन हाम्रा कुराका लागि अजयले रोशनी शाहीसँग लिएको अन्तर्वार्ता प्रकाशित भयो । त्यो अन्र्तवार्ताले मुलुकमा भुईंचालो नै ल्याइदियो । अन्तर्वार्तामा रोशनीको दावी थियो– सभामुख कृष्णबहादुर महराले मलाई बलात्कार गर्न खोजे । भोलिपल्टै महराले सभामुख पदबाट राजीनामा दिनुपर्‍यो । त्यसपछि उनी निरन्तर थुनामा थिए । 

महराले आज अदालतबाट सफाई पाएपछि सनराइज खबरका संवाददाताले अजयबाबुलाई सोध्यो– ‘जिल्ला अदालतको फैसला कस्तो लाग्यो ?’

जवाफमा अजयले भने– ‘अदालतको फैसला सबैले मान्नुपर्छ । कृष्णबहादुर महरा मेरा विपक्षी होइनन्, न म उनको पक्षको हूँ । महरा या राेशनी शाही काेहीकसैसँग मेराे अ‌ाग्रह पूर्वाग्रह केही पनि छैन । पत्रकारिता कर्म गर्ने क्रममा उनीसँग गाँसिएको अन्तर्वार्ता र समाचार मैले गरें । कुरा त्यही हो ।’ 

याे पनि पढाैं -

अब महराजीसँग मेरो सम्बन्ध पहिलेजस्तै राम्रो हुन्छ– रोशनी शाही

लोकतन्त्रमा अदालतको फैसला चुनौतीरहित हुने भन्दै उनले फैसलाको सामाजिक प्रभावबारे भने प्रशस्त चर्चा गर्न सकिने बताए । उनले भने– ‘फैसलाको पूर्ण पाठ आएपछि त्यसमा बहस छलफल गर्न सकिएला तर अदालतको फैसलालाई नै चुनौती दिने काम कसैले गर्न हुँदैन ।‘

‘अदालतले महरालाई सफाई मात्र दिएको हो कि आरोप लगाउने रोशनीजीको बारेमा पनि केही भन्यो ? अदालतले के भनेको छ रोशनीको बारेमा ? यो पनि हामीले हेर्नुपर्ने हुन्छ’– उनले भने । 

‘अदालतले महरालाई निर्दाेष सावित गरेपछि आरोप लगाउने रोशनी शाहीजीको बारेमा पनि केही भन्नुपर्ने हो । रोशनीजीको आरोप पछि नै महराजीलाई मुद्दा लागेको हो, उहाँको सभामुख पद पनि गएको हो’– अजयबाबुले अगाडि भने– ‘फैसलाको पूर्ण पाठ आएपछि  आगामी दिनमा साामाजिक बहस र समीक्षा गर्न सकिएला । तर, कसैले कसैलाई आरोप लगाएपछि उत्पन्न हुने परिस्थिति बारेमा हाम्रो कानुन नै अपरिपक्व छ कि ? यो पनि समीक्षा हुनुपर्ने देखिन्छ ।’

रोशनीको बारेमा अदालतले के भनेको छ भन्ने कुरालाई गम्भीरतापूर्वक हेर्नुपर्ने उनले बताए । ‘महराजीले सफाई पाउनुको अर्थ उहाँलाई आरोप लगाउने रोशनी शाहीजीको दावी गलत हो भन्ने देखिन्छ । गलत आरोप लगाउने रोशनी शाही सजायको भागिदार बन्नुपर्ने हो कि होइन ? यो विचारणीय प्रश्न हो । अदालतको फैसलाको पूर्ण पाठ नहेरी यसबारे थप टिप्पणी गर्न सकिन्न’– अजयबाबुले भने । 

उनको भनाई छ– ‘लोकतन्त्रको पक्षमा मेरो पत्रकारिता जारी रहन्छ । म अझ निर्भिक भएर पत्रकारितामा क्रियाशील भइरहन्छु ।’

 

प्रतिकृया दिनुहोस