प्रहरी महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान, प्रहरी संगठनमा सुधारकाे प्रतिवद्धता
काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१ औँ आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
३० औँ महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भएपछि थापाले आजबाट कार्यभार सम्हाल्नु भएको छ ।
कार्यभार सम्हाल्दै नवनियुक्त आइजिपी दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताउनुभयो । प्रहरी भित्रको सुधार आफैँबाट सुरु गर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन, ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ, प्रहरीमा सुधार आवश्यक छ, प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरुरी छैन, सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन’, उहाँले भन्नुभयो ।
.jpg)
उहाँले प्रहरी कर्मचारी प्रति कुनै आग्रह पूर्वाग्रह नराखी संस्थागत सुधारको लागि काम गर्ने बताउनुभयो । नागरिकका हरेक समस्यामा नेपाल प्रहरी नजिकको साथी भएर उभिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कानुनी राज्यको प्रत्याभूति दिलाउन नेपाल प्रहरी निरन्तर क्रियाशील रहने पनि उहाँले बताउनुभयो ।
अपराध, प्रभाव र दबाबलाई नेपाल प्रहरीले निस्तेज गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नागरिकमा निराशा फैलाउने तत्त्वहरू सलबलाई रहेकालाई त्यसलाई निस्तेज पार्ने थापाले विश्वास दिलाउनुभयो ।


प्रतिकृया दिनुहोस