खोटाङबाट बिरामी लिएर काठमाडौं हिँडेको सुमाे ओखलढुङ्गामा दुर्घटना, तीन जनाको ज्यान गयो
काठमाडौं । खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमो ओखलढुङ्गामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा पर्ने भँडारे खोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एकै परिवारको तीन जनाको ज्यान गएको हो । मानेभञ्ज्याङ गाउँपालिका का उपाध्यक्ष आश्रचन राईका अनुसार ज्यान गुमाउनेमा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उहाँका छोरा २८ वर्षीय पूजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ हुनुहुन्छ ।
खोटाङबाट बिरामी लिएर काठमाडौं हिँडेको सुमो रातको साढे १२ बजेतिर दुर्घटनामा परेको भए पनि बिहान मात्रै स्थानीयले थाहा पाएका थिए । तीनै जनाको घटनास्थलमा नै ज्यान गएको थियो । आगोले पोलेर गम्भीर बिरामी भएकी मायादेवीलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए ।
दुर्घटनापछि सुमो चालक २२ वर्षीय अनिल पण्डित फरार छन् ।


प्रतिकृया दिनुहोस