पूर्व सचिव अर्जुन कार्कीको निवासमा कामदार मृत, पत्नी घाइते
काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीको घरमा उनका सहयोगी झुण्डिएर मरेको अवस्थामा फेला परेका छन् । ललितपुको सानेपा स्थित घरमा पूर्व सचिव कार्कीकी पत्नी मुना कार्की गम्भीर घाइते अवस्थामा फेला परेकी छिन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार मृतकको नाम यकिन हुन सकेको छैन । उनी २०/२१ वर्षका चौधरी थरका हुन् । घटनास्थलमा भेला भएका स्थानीयका अनुसार उनी दाङका हुन् ।
गम्भीर घाइते मुना भान्सामा रक्ताम्य अवस्थामा लडेकी थिइन् । उनको टाउकोमा चोट देखिएको छ । बेहोस मुनालाई तत्कालै नजिकैको स्टार अस्पताल पुर्याइएको छ । अस्पतालका एक कर्मचारीका अनुसार मुनाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ ।
मृतक चौधरी घरको भर्याङ मुनि झुण्डिएको अवस्थामा फेला परेका थिए ।
चौधरीले आत्महत्या गरेका हुन् कि होइनन् भन्ने प्रष्ट हुन सकेको छैन । प्रहरीको प्रारम्भिक अनुमानमा उनले आत्महत्या गरेका हुन सक्छन् ।
घटना भएको बेला अर्जुन कार्की घरमा नभएको बताइएको छ ।


प्रतिकृया दिनुहोस