• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल प्रहरीका २ एआईजी र ५ एसपीलाई दर्ज्यानी चिन्ह

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रहरीका २ अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ जना प्राविधिक प्रहरी उपरीक्षक (एसपी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

मन्त्रिपरिषद्को ०८१ पुस ५ काे निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा भएका र प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भएका ७ जना प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आइतबार दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हाे ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहमा उहाँले एआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा तथा एसपीहरु डा. राम प्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकारलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हाे । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयाे । दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतले प्रदर्शन गरेको व्यावसायिकता, इमानदारीता र लगनशीलतालाई कायम राख्दै प्राप्त सफलतालाई व्यक्तिगत उपलब्धिसँग मात्र जोडेर नहेरी सांगठनिक विकास र सुदृढिकरणमा समेत महत्वपूर्ण योगदान दिने अवसरका रूपमा मनन गरी पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी आगामी दिनहरूमा अझ बढी सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।  

समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट बाेल्दै एआई दुर्गा सिंहले नेपाल प्रहरीको साख वृद्धिलाई प्राथमिकतामा राखी नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा अझ बढी जवाफदेहीताका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस