• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भारत भ्रमण सकेर प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

खबर स‌ंवाददाता

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किनुभएकाे छ ।

भारतको ५ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति सिग्देल आइतबार स्वदेश फर्कनुभएको हाे । उहाँलाई बलाध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । 

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा प्रधानसेनापति सिग्देल यही मंसिर २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियाे ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल,  प्रतिरक्षा प्रमुख जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।

उहाँ भारतको देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएकाे थियाे । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रवीन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटमध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीका रूपमा सम्मानित हुनुभएको थियो ।

भारतमा रहँदा प्रधानसेनापती सिग्देलले भारतीय सेनाको दक्षिण कमाण्ड फोर्स केन्द्र लगायत विभिन्न रणनीतिक सैनिक संरचनाको पनि भ्रमण गर्नुभयो ।

प्रतिकृया दिनुहोस