गाडीको ठक्करबाट ड्युटीमा बसेका सशस्त्र प्रहरीका सईको ज्यान गएपछि लाहनमा आफन्तको प्रदर्शन
काठमाडौं । सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आइतबार बिहान ठक्कर दिँदा ज्यान गएको छ ।
भारतसँग सीमा जोडिएको सो स्थानमा बिहान तीन बजेतिर यादवलाई गाडिले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट यादवको घटनास्थलमा नै ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।
मदिरा तस्करी गर्ने गाडी रोक्न खोज्दा गाडीले ठक्कर दिएर भारततर्फ भागेको बताइएको छ । यादव बिओपी बरहरीमा कार्यरत हुनुहुन्थ्यो । उहाँसँगै अन्य चार सशस्त्र प्रहरी पनि ड्युटीमा थिए । यादवको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट यादवको ज्यान गएको भन्दो सिरहाको लहानमा मृतकका आफन्तले आन्दोलन सुरु गरेका छन् । यादवका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरूले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ ।
आन्दोलनमा उत्रिएकाहरूले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।


प्रतिकृया दिनुहोस