झापामा सडक दुर्घटना : तीन जनाको ज्यान गयो
काठमाडौं । आइतबार झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । घटनामा अन्य दुईजना घाइते भएका छन् ।
कमल गाउँपालिकामा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने मेचीनगर नगरपालिकामा एक जनाको ज्यान गएको छ ।
कमल गाउँपालिका–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा शिवसताक्षी–८ का ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बूको ज्यान गएको छ ।
त्यस्तै पूर्व–पश्चिम लोक मार्गअन्तर्गत मेचीनगर–७ मा काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस