• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न अनुमति

राजेश भण्डारी

काठमाडौं । धार्मिक आवरणमा ठगी गरेको अभियोगमा ‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

विष्णु प्रपन्‍नाचार्य र बाल योगेश्वर भनेर चिनिने धर्मगुरु विजय भण्डारीलाई ठगी अभियाेगमा पक्राउ गर्न अनुमति दिइएको हो । 

चितवनस्थित नारायणी नदीको किनारमा एक महिना लामो महायज्ञ संचालन भइरहेको बेला पक्राउ पूर्जी जारी भएसँगै उनी फरार भएको प्रहरीले जनाएको छ ।गुल्मी स्थायी घर भएका भण्डारी धार्मिक प्रवचक हुन् । 

महायज्ञको मुख्य प्रवचक रहेका भण्डारी फरार भएपछि आयोजकले महायज्ञ स्थगित गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनी विरुद्ध विदेश पठाउने भन्दै ठगी गरेको उजुरी परेको छ । 

‘दुई जना युवालाई ठगी गरेको जाहेरी आएको छ’ – महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने । 

विजयले पीडितलाई दिएको १२ लाखको चेक बाउन्स भएको छ । उनी यसअघि पनि ठगी आरोपमा जेल परेका थिए । ०७१ पछि १८ महिना र ०७६ मा १९ दिन जेल बसेर निस्केपछि उनले नाम परिवर्तन गरेर धार्मिक प्रवचन दिन थालेको काठमाडौं प्रहरीले जनाएको छ । 

धार्मिक आवरणमा अमेरिका लगायतका मुलुकमा पठाउने भन्दै उनले ठगी धन्दा नै चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
 

प्रतिकृया दिनुहोस