बाढी र पहिराे : हेलिकप्टरबाट १६१ जनाको उद्धार
काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका १ सय ६१ जनाको सकुशल उद्धार गरिएकाे छ ।
आइतबार बिहानसम्म बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका १ सय ६१ जनाकाे उद्धार गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभयो ।
शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ ।
मन्त्रालयका अनुसार शनिबार काठमाडौंं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो ।
मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म १ सय ७ जनाको ज्यान गएकाे छ । ६४ जना बेपत्ता छन् । ७३ जना घाइते भएका छन् ।
गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिइसक्नु भएको छ ।
- रासस


प्रतिकृया दिनुहोस