सुनकोशीमा जिप खस्यो, तीनजना बेपत्ता
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा शनिबार साँझ हाइलेक्स जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिप खाेटाङकाे हलेसीबाट भक्तपुर तर्फ आउँदै थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गाडी नदीमा खस्दा गाडी चालक भक्तपरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन् ।
गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपती भने घाइते हुनुभएको छ । उहाँको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । सुशान्त भने नदीमा खसेको गाडीको सिसा फोडेर बाहिर निस्कन सफल हुनुभएको छ ।
नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजी कार्यका जारी छ । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सप्रनिको कमाण्डमा गोताखोरसहितको प्रहरी टोली खोजीमा खटिएको छ ।


प्रतिकृया दिनुहोस