• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बागलुङको बडिगाड गाउँपालिकामा पहिरोले पुर्दा एकजनाको ज्यान गयो, तीनजना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ । 

पहिरोमा पुरिएको १५ वर्षीय विधान परियारको ज्यान गएको हो । मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको वडाध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो । घटन मंगलबार बिहानको भएको उहाँले बताउनुभयो । 

त्यस्तै बडिगाड गाउँपालिका–१० आरुपाटामा पहिरोले तीनवटा घर पुरेको छ । सो स्थानका तीन जना मानिसहरु बेपत्ता भएको भन्ने जानकारी आएको भए पनि त्यसको पुष्टि नभइसकेको गाउँपालिका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो । 

वर्षाले सडक बिगारेको तथा ठाउँ ठाउँमा खोलामा बाढी आइरहेको कारण घटनास्थलसम्म अझै पुग्न नसकिएको उहाँले बताउनुभयो । आफूहरू खोलाहरूमा रस्सी टाँगेर तर्दै घटनास्थल तर्फ गइरहेको र केही बेरपछि त्यहाँ पुग्ने वनले जानकारी दिनुभयो । 

गाउँपालिकाको केन्द्रबाट करिब १८ किलोमिटरको दुरीमा रहेको सो वडासम्म पुग्न पैदल हिँड्नु पर्ने भएकोले जान ढिलाइ भएको उहाँले बताउनुभयो । वडा नं ९ को शव अस्पताल पठाएर आफू प्रहरी टोली सहित त्यस तर्फ गइरहेको वनले जानकारी दिनुभयो । 

यसै बिच वडा नं ९ को काभ्राखर्कामा पनि एक जना हराइरहेका छन् । पहिरो हेर्न गएको ती व्यक्ति बिहानदेखि नै सम्पर्कविहीन भएका उपाध्यक्ष वनले जनाकारी दिनुभयो । उनको पनि खोजी भइरहेको उहाँले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस