• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भोजपुरमा निर्माणाधीन इर्खुवा जलविद्युत आयोजनाका दुई जना मजदुरलाई बाढीले बगायो 

सनराइज खबर संवाददाता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले भोजपुरमा निर्माणाधीन इर्खुवा जलविद्युत आयोजनाका दुई जना मजदुरलाई बगाएको छ । 

भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ मा निर्माणाधीन इर्खुवा जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई बाढीले बगाएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो ।  

बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको भने उद्धार गरिएको छ ।  

ती मजदुरहरू निर्माणाधीन जलविद्युत आयोजनाको क्याम्पमा सुतेका थिए । गए राती १२ बजे पछि खोलामा आएको बाढीले क्याम्प नै बगाएको अध्यक्ष कुलुङले बताउनुभयो । 

कुलुङका अनुसार इर्खुवा खोलाले भौतिक संरचनामा पनि ठुलो क्षति गरेको छ । खोलो निर्माणाधीन दुईवाट पक्की पुलमा क्षति पुर्‍याएको छ भने अर्को निर्माण भइसकेको पक्की पुलमा पनि दुवैतिरबाट खोलेर क्षति पुर्‍याएको छ । खोलामा हालिएका अधिकांश झोलुङ्गे पुलहरू जोखिममा परेका छन् । 

 

प्रतिकृया दिनुहोस