रोल्पाको घर्तीगाउँमा जिप दुर्घटना, सात जनाको ज्यान गयो, ६ घाइते
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–४ मा जिप दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।
माडी गाउँपालिकाका घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरा भन्ने ठाउँमामा दुर्घटनामा पर्दा उनीहरूको ज्यान गएको गाउँपालिका उपाध्यक्ष जयपुरी घर्ती मगरले जानकारी दिनुभयो ।
सडकबाट करिब ४ सय मिटर तल खस्दा जिपमा सवार एक बालिका सहित चार जना महिला र एक पुरुषको घटनास्थलमा नै ज्यान गएको उहाँले बताउनुभयो । त्यस्तै उपचारको लागि रेउघा अस्पताल पुर्याइएका एक महिला र एक पुरुषको पनि ज्यान गएको उहाँले बताउनुभयो ।
घटनास्थलबाट आठ जनालाई उपचारको लागि अस्पताल पठाइएकोमा उनीहरू मध्ये दुई जनाको ज्यान गएको उद्धार कार्यमा संलग्न उपाध्यक्ष मगरले जानकारी दिनुभयो । जिपमा सवार १४ जना मध्ये एक महिला भने सकुशल हुनुहुन्छ । उहाँ सडकबाट जिप खस्नु अगाडि नै हामफालेकोले सकुशल रहनुभएको मगरले बताउनुभयो ।
घुम्तीमा पहिरोबाट झरेको ढुङ्गा पन्छाउन ड्राइभर झरेको बेला जिप ब्याक गएको थियो । ब्याक सरेको जिप ड्राइभरले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको घर्तीले बताउनुभयो ।
घाइते ६ जनाको रेउघा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस