भन्सार छलिका मोबाइलसहित थानकाेटबाट दुई पक्राउ
काठमाडौं । भन्सार छलेर ल्याइएका डेढ करोड मूल्य बराबरकाे मोबाइलसहित दुईजनालाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ ।
गाडीको एयरब्याग भित्र फल्स बटन बनाएर मोबाइल लिएर आउँदै गरेका दुई जनालाई महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी घर भएका उमेश भट्ट र सिन्धुपाल्चोक घर भएका इन्द्रबहादुर कटुवाल छन् ।
पक्राउ पर्नेको नाम खुलाइएको छैन । पक्राउ परेका मध्ये एकजना दृष्टिविहिन छन् । मोबाइल तस्करले प्रहरीकाे आँखा छल्न दृष्टिविहिनलाई प्रयोग गरेको बताइएको छ ।
रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं आएको भारतीय नम्बर प्लेटको इनोभा गाडी खानतलासी गर्दा विभिन्न १८ वटा कम्पनीका ६ सय ३४ वटा मोबाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता(डीएसपी) होविन्द्र बाेगटीले जानकारी दिए ।
समातिएका माेबाइल सामसुङ, ओप्पाे, आईफाेन, भिभाे, एमआई, ओप्पो, शाओमी, हुवावे लगायत ब्राण्डका छन् ।
त्यसरी ल्याइएका माेबाइलहरुमा धेरै जसाे भन्सार छलिका र केही चाेरीका पनि रहेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।


प्रतिकृया दिनुहोस