• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चितवनमा बस र कार ठोक्किँदा दुर्घटना, दुई जना गम्भीर घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । चितवनमा कारसँग ठोक्किएर बस त्रिशूलीमा  खस्दा १२ जना घाइते भएका  छन् । 

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार चितवनको इच्छा कामना गाउँपालिका –३ फिस्लिङमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।  

कारमा सवार पाँच जना र बसमा चालकसहित ३५ जना यात्रु सवार रहेका थिए । सो मध्ये १२ जना घाइतेको उद्धार गरी चितवनको भरतपुरका अस्पतालमा पठाइएको छ । 

बस सडकबाट खोलामा झरेको छ । बसका यात्रुहरू सामान्य घाइते भए पनि कारमा सवार दुई जना गम्भीर घाइते भएका छन् । 

गम्भीर घाइतेमध्ये  कार चालक पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको टाउकोमा गम्भीर चोट लागेको छ । कारमा सवार टोखा नगरपालिका–६ काठमाडौँका २२ वर्षीय शेखर मिश्रको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

उनीहरू दुबैजनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको  छ । बाँकी १० जना घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस चालक कोहलपुर नगरपालिका–१२ घरका ३५ वर्षका विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान सात बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रि बस ठोक्किएका थिए । कार भने सडकमा नै छ । 

 

प्रतिकृया दिनुहोस