• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मुगुमा यार्सागुम्बा टिप्न गएका थप दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । मुगुमा यार्सागुम्बा टिप्न गएका थप दुई जनाको ज्यान गएको छ । 

यस अघि यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर शनिबार ज्यान गएको थियो । यो सहित यार्सागुम्बा टिप्न जाँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।  

लेक लागेर सिकिस्त भएका एक जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार ज्यान गएको प्रहरीले जनाएको छ । मुगु स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला सदरमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१२ तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको बाटोमा नै ज्यान गएको छ । 

शनिबार नै पाटन ठुलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावदको ज्यान गएको थियो । छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढाको पनि लेक लागेर ज्यान गएको छ । 

लेक लागेर स्थानीय जीवन बुढा गम्भीर बिरामी पर्नुभएको छ । उहाँको उपचार जारी छ ।  

गत वर्ष पनि यार्सागुम्बा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा पुरिएर र एक जनाको लडेर ज्यान गएको थियो । मुगुका २४ भन्दा बढी पाटनमा यार्सा सङ्कलन गर्न मुगूम कार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको छ । अहिले पाटनमा यार्सागुम्बा सङ्कलन गर्नेको भिड लागेको छ । 

 

प्रतिकृया दिनुहोस