सिंहदरबार देखि दीप बस्न्यात निवाससम्म सुरक्षा सतर्कता
काठमाडौं । नागार्जुन नगरपालिकाको ढुंगेधारास्थित शोभाकान्त ढकालको घरमा बुधवार साँझ विष्फोट भयो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बालुवाटारको ललिता निवासको ‘विवादित’ जग्गा कब्जा गरेको घोषणा गर्दै प्रेशर कुकर बम राखे । सो बम नेपाली सेनाले डिस्पोज गरायो ।
बुधवारको बमकाण्ड पछि प्रहरीले एउटा सुराक पायो–‘विप्लव समूहले काठमाडौंमा ठूलो अपरेशन चलाउँदै छ ।’
सो अपरेशन नेपाल कम्युनिष्ट पार्टीका केही उच्च नेता र व्यापारीक समूहप्रति लक्षित छ ।
बिहीबार साँझ विप्लव समूहले देशव्यापी भण्डाफोर गर्ने आन्दोलनको तालिका सार्वजनिक गरेको छ । संघर्षको कार्यक्रम सार्वजनिक भएसँगै काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार विप्लव समूहले सिंहदरबार र अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको बत्तिसपुतलीस्थित बंगलामा बम विष्फोट गराउने तयारी गरिरहेको छ ।
‘विप्लव समूहले सिंहदरबार, बालुवाटार तथा केही भीआईपीलाई टार्गेट गरेको सुराक आएको छ’ ति अधिकृतले सनराईखजबरसँग भने–‘केही दुतावास र मेनपावर कम्पनीहरुमा टार्गेट गरेको खुलेपछि ती क्षेत्रमा सुरक्षा सतर्कता बढाईएको छ ।’
१८ ठाउँमा सुरक्षा सतर्कता
विप्लव समूहले बम विष्फोट लगायतका गतिविधि गर्नसक्ने सुरक्षा विश्लेषणका आधारमा सिंहदरबार, बालुवाटार, संसद भवन, पुल्चोकस्थित मन्त्री निवास, नारायणहिटी संग्राहलय लगायत १८ ठाउँमा सुरक्षा सतर्कता अपनाईएको छ ।
प्रहरी अधिकृतहरुका अनुसार महत्वपूर्ण सरकारी कार्यालय, उच्च सरकारी अधिकृतहरुको निवास, भारतीय राजदूतावास, अमेरिकी राजदूतावास र कपन हाईटमा रहेको भीआईपी बस्ने क्षेत्रमा सुरक्षा सतर्कता अपनाईएको छ ।
‘विप्लव समूहले टार्गेट गरिरहेका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको निवासमा पनि सुरक्षा सतर्कता बढाईएको छ’ नेपाल प्रहरीका एक उच्च अधिृकत भन्छन्–‘एनसेलको सर्भिस सेन्टर र टावर भएका घरहरु पनि उनीहरुको निशानामा छन् ।’
उद्योग ब्यवसायीका प्रमुखहरुको हाउजिङ तथा होटल र काठमाडौंका केही निजि विद्यालयमा पनि विप्लव समूहले आक्रमण गर्नसक्ने भन्दै सुरक्षा सतर्कता बढाईएको छ ।
कारबाहीको लिस्टमा विष्णु पौडेल
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलसहित ८ जनालाई विप्लव समूहले कारबाहीको लिस्टमा राखेको छ ।
विप्लवको कारबाहीको लिस्टमा विष्णु पौडेल, भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोयल समूह, चाचन ग्रुप, केडिया ग्रुप, सारदा ग्रुप, शोभाकान्त ढकाल, रामकुमार सुवेदी र गोपाल खनाल छन् ।
विप्लव समूहले टार्गेट गरेका व्यक्ति र व्यापारिक घरानाका सञ्चालकको निवास र कार्यालयमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ ।


प्रतिकृया दिनुहोस