• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पाष्टरबाट महिला बलात्कृत !

सनराइज खबर संवाददाता


काठमाडौं । रोगले सताइएकी दिलकुमारी (नाम परिवर्तन) लाई एक साथीले चर्चमा गएर प्रार्थना गर्दा निको हुने सल्लाह दिए ।

उनकै सल्लाहमा दिलकुमारी ललितपुरस्थित आशाविश्वासी मण्डली चर्च जान थालिन् । चर्चमा गएर आफू रोग निको पार्न परमेश्वरको शरणमा आएको बताइन् । उनलाई चर्चका पाष्टरले उनलाई रोग निको पार्न सहयोग गर्ने बचन दिएका थिए ।

चर्चमा प्रवचन दिने भुमिकामा रहेका पाष्टरले सहयोग गर्ने बताएपछि दंग परेकी दिलकुमारीको खुशी धेरै समय टिकेन । पाष्टरले रोग निको पार्न भन्दै फकाउँदै र धम्क्याउँदै दिलकुमारीलाई पटकपटक बलात्कार गरे ।

धर्मको आडमा महिलालाई बलात्कार गर्ने सो चर्चका पाष्टर विश्वास जोशी भनिने ध्रुवबाबु जोशीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

पीडित दिलकुमारीलाई पाष्टर ध्रुवबाबुले तीन महिनाअघि चापागाउँ दोबाटोको गेष्टहाउस लगेर पहिलो पटक बलात्कार गरेका थिए ।

सो क्रममा पाष्टर ध्रुवबाबुले दिलकुमारीलाई पहिलेका पाप पखालेमा मात्र रोग निको हुने बताएका थिए । त्यसका लागि आफूसँग सम्भोग गर्नु पर्ने भन्दै जबरजस्ती गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

सो घटनाका बारेमा कसैलाई बताएमा परमेश्वरले आफूलाई दिएको शक्ति नाश हुने भन्दै घटनाबारे कसैलाई नभन्न पाष्टरले आग्रह गरेका थिए । आफूले भनेको नमाने  ‘जे पनि गर्न सक्छु’ भन्दै पाष्टर ध्रुवबावुले पीडितलाई धम्की दिँदै आएका थिए ।

पहिलो पटकको घटना बाहिर ल्याउन नसकेकी दिलकुमारीलाई पाष्टरले दोस्रो पटक पनि बलात्कार गरे ।

पीडीत महिलाको पसलमा आएर उनले दोस्रो पटक बलात्कार गरेका थिए । रोग निको पार्ने कोर्स पूरा गर्न भन्दै सो पटक पाष्टर ध्रुवबाबुले फकाएका थिए ।

तर तेस्रो पटक पनि जबरजस्ती गर्न आउँदा आफूलाई रोग निको नभएपनि नमान्ने भन्दै प्रतिकार गर्दा पाष्टरले धम्की दिएका थिए । यसअघि आफूसँग शारिरीक सम्पर्क गरेको कुरा दिलकुमारीको परिवारलाई भनिदिने र चर्चमा पनि यो कुरा फैलाइदिने धम्की पाष्टर ध्रुवबाबुले दिए ।

‘पाष्टरले मलाई डर देखाए’ – पीडितको जाहेरीमा भनिएको छ – ‘त्यसपछि म पाष्टरबाट तेस्रो पटक पनि बलात्कृत भएँ ।’

 

 

प्रतिकृया दिनुहोस