प्रतिगुप्तचरी विधेयक : विज्ञहरुको चिन्ता पनि, समर्थन पनि
काठमाडौं । विदेशमा समेत गुप्तचरी गर्न सकारले कानुन बनाउन सोमबार राष्ट्रिसभामा प्रतिगुप्तचरी विधेयक पेश गर्ने भएको छ ।
राष्ट्रिय सभामा दर्ता भएको ‘नेपाल विशेष सेवाको गठन र संचालन सम्बन्धी कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विद्येयक’लाई सुरक्षा सम्बन्धी जानकारहरुले उपयुक्त भनेका छन् ।
सुरक्षा विद्हरुले राष्ट्रिय हितका लागि सरकारले ल्याएको विधेयक उपयुक्त भएपनि ब्यक्तिगत स्वतन्त्रतालाई भने ख्याल गर्नुपर्ने बताएका छन् ।
निगरानीमा रहेका सन्दिग्धहरुको कुराकानी, श्रब्य, दृश्य वा विद्युतीय सङ्केत विवरणलाई निगरानी, अनुगमन र इन्टरसेप्शन गर्नेबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मौलिक हक हनन हुनेगरी सो विद्येयक ल्याउन लागिएको भन्दै विरोध गर्दै आएको छ ।
‘फोन इन्टरसेप्ट’ को वर्गीकरण हुनुपर्ने भन्दै सुरक्षा विद्हरुले राज्यको सुरक्षाका लागि सर्वसाधारणले सेक्रिफाईस गर्न तयार हुनुपर्ने र राज्यले ब्यक्तिगत स्वतन्त्रतालाई ख्याल गरेर सुरक्षा दिनुपर्ने बताएका छन् ।
प्रतिगुप्तचरी विद्येयकबारे सनराइज खबरले सुरक्षा सम्बन्धी जानकारहरुसँग गरेको कुराकानीको संक्षेप ः
ताराबहादुर कार्की, पूर्व उपरथी
हरेक देशको आ–आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना संकलन गर्ने निकाय हुन्छ । देशभित्र रहेका सुरक्षा निकायका आ–आफ्नै इन्टेलीजेन्स हुन्छन् । जस्तो, हाम्रोमा सेना, प्रहरी र शसस्त्र प्रहरी भित्र बेग्लाबेग्लै इन्टेलीजेन्स युनिट छन् ।
विदेशी जासूसी संयन्त्रलाई काउन्टर गर्न, आफ्नो सूचना चुहिन नदिने र अर्काले सूचना लिन काउन्टर इन्टेलीजेन्स एकदमै आवश्यक छ । सकारले कानुन बनाएर त्यस्तो संयन्त्र निर्माण गर्न खोजेको जस्तो मलाई लागेको छ ।
कुनै पनि राष्ट्रको सूचना लिने प्रणाली प्रभावकारी हुनुपर्छ, हाम्रो देशमा सो प्रणाली एकिकृत र संस्थागत थिएन ।
अब, कल इन्टरसेप्ट गर्ने भनेको नागरिकसँग सम्बन्धित कुरा आयो । कस्ता मान्छेको हकमा कल इन्टरसेप्ट गर्नु ठिक या छैन भनेर परिभाषा गर्नुपर्छ । सामान्य नागरिकको इन्टरसेप्ट गर्नु भएन । यसमा ख्याल गर्नुपर्छ । मैले भन्न खोजेको– कल इन्टरसेप्टको कुरा चाहिँ डिफाईन गर्नुपर्छ । त्यसलाई ब्याख्या बर्गीकरण गर्नुपर्छ ।
नवराज ढकाल, पूर्व एआईजिपी
काउन्टर इन्टेलीजेन्स सवै मुलुककको इन्ट्रेष्टमा हुन्छ र त्यो काम चाहिँ गर्नैपर्छ । कतिपय मुलुकमा कानुन नै नल्याएर पेलपाल पारेर काउन्टर इन्टेलीजेन्स संचालन गरिएको हुन्छ ।
प्रजातान्त्रिक मुलुकमा त्यसलाई उत्तरदायी बनाउन कानून बनाएर प्रतिगुप्तचरी गरेको उत्तम जस्तो लाग्छ । हाम्रोमा नियामक निकाय नै उत्तरदायी भएनन् भनेर आलोचना हुने गरेको छ, तर यो कानुनलाई पहिले नै खराब नियतले हेर्न चाहिँ हुँदैन । कानुन चाहिन्छ, त्यसले मान्छेलाई जवाफदेही बनाउँछ ।
पछिल्लो द्धन्दलाई हेर्ने हो भने गुप्तचरी र प्रतिगुप्तचरी संयन्त्र बलियो बनाउनुपर्छ । त्यसका लागि राज्य संयन्त्रलाई छाडा छाड्नु भएन, ती निकायहरुलाई कानुनको दायरामा राख्नुपर्छ ।
शंकाको कुराचाहिँ, यो कानुनले सामान्य नागरिककै दैनकीमा हस्तक्षेप गर्छ कि भन्ने मात्र हो । त्यसमा कानुनले त्यो संस्थालाई जनता र राज्यप्रति उत्तरदायी बनाउनुपर्छ । सर्वसाधारणको गोपनियता र मौलिक हकमा हस्तक्षेप नहुने मेकानिजम तयार गरेर मात्र विधेयक पास गर्नुपर्छ ।
फोन इन्टरसेप्ट त अमेरिकाले पनि गर्ने गरेको छ । दुरुपयोग रोक्ने कानुनले नै सो संस्थालाई उत्तरदायी बनाउनुपर्छ । तर, बिना कानुन गुप्तचरी गर्नुचाहीँ घातक हुन्छ ।
इन्द्रजित राई, सुरक्षाविद्
मुलुकका लागि गुप्तचरी संयन्त्र धेरै शक्तिशाली बनाउनुपर्छ । किनभने, अहिले विप्लव समूहको गतिविधि थाहा पाउन सरकारलाई समस्या भइरहेको छ ।
विदेशीको गुप्तचरी गर्ने संयन्त्र थिएन, त्यो आवश्यक हो । अमेरिका र भारतीय दुतावासमा कल इन्टरसेप्ट सिस्टम छ, राज्यको हितका लागि त्यो गर्नु उपयुक्त हो । तर, यसलाई दुरुपयोग गर्नु हुँदैन । साधारण मान्छेको कल इन्रसेप्ट गर्नु नराम्रो हो, तर गैरकानुनी काम गर्नेको हकमा त्यो राम्रो हो । त्यसलाई दुरुपयोग गर्नु हुँदैन भन्ने मेरो भनाई हो ।
गैरकानुनी गतिविधि गर्नेहरुले कल इन्टरसेप्ट गरिरहेका छन्, तर सरकारले गर्न नमिल्ने भन्ने हुँदैन ।


प्रतिकृया दिनुहोस