• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रविधिको विकाससँगै फेरियाे अपराधकाे शैली

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रविधीकाे विकाससँगै अपराध गर्ने शैली पनि फेरिएकाे पछिल्ला घटनाक्रमले देखाइरहेकाे छ । आधुनिकतासँगै अपराधकाे शैलीमा परिवर्तन आउनु चुनाैती रहेकाे गृहमन्त्री रामबहादुर थापाले बताए । 

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । 

भौतिक उपस्थिति बिना एक देशमा बसेर अर्को देशमा अपराध गर्ने प्रवृति बढेकाले चुनौती थपिएकाे बताउँदै उनले आधुनिक शैलीकाे अपराध नियन्त्रण गर्न परम्परागत अनुसन्धान प्रभावकारी हुन नसक्ने स्पष्ट पारे । 

त्यसको लागि नयाँ कानुन बनाइएको र अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलले साझा रुपमा सो को कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । 

सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मुलुकले अपनाउँदै आएको कानुनी प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित जारी भएको मुलुकी अपराध संहिताहरुको कार्यान्वयनमा सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

उनले सानालाई ऐन र ठूलालाई चैन भन्‍ने दिन सकिएको बताउँदै अब त्यस्तो अवस्था आउन दिन नहुने बताए ।

यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्मेलनमा प्रहरी र सरकारी वकीलहरुसँग भएका कानुनी र व्यवहारीक अनुभवहरुको विश्लेषण भएको जानकारी दिए । यसले आगामी दिनमा न्याय निरुपणको प्रकृयालाई थप सहज र गतिशील बनाउन सहयोग पुग्‍ने विश्वास उनले व्यक्त गरे ।

सम्मेलनले नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयन, स्वच्छ सुनुवाई र फौजदारी न्यायका मान्यता सहित ३३ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलन पुष ४ देखि ६ गते सम्म काठमाडौंमा आयोजना भएको हो ।
 

प्रतिकृया दिनुहोस