विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोली ठगी, दुई जना पक्राउ, तीन जना फरार
काठमाडाैं । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को नक्कली कार्यालय खोली ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
आइतबार भक्तपुरबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हाे ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका-९ का ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुरकाे वाग्मती गाउँपालिका-९ का ४० वर्षीय दिनेश भन्ने लिलाबहादुर भोलोन रहेका परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयाे ।
उनीहरुले काठमाडाैंकाे बूढानीलकण्ठमा घर भाँडामा लिई खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ । उनीहरुले गत जेठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली कार्यालय सञ्चालनका लागि चाहिने फर्निचर लगायत विभिन्न सामान तथा खाद्य सामग्री खरिद गर्न बोलपत्र आव्हान गरी, बोलपत्र स्वीकृत समेत गरी विभिन्न सामानहरु ल्याई रकम भुक्तान नगरेको कार्कीले बताउनुभयाे ।
उनीहरुकाे साथबाट दुई लाख रुपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु , अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप लगायत सामान बरामद भएको प्रहरीले जनाएकाे छ । उनीहरूमाथि ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
साे प्रकरणमा संलग्न दिपेश गुरुङ भन्ने भिम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकाले खोजी भइहरेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस