नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ पर्नुभएकाे छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेकाे प्रकरणमा अनुसन्धानका लागि खाँडलाई बुधबार बिहान पक्राउ गरिएकाे प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ ।
खाँडसँगै उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै निवास मैजुवाहालबाट पक्राउ पर्नुभएका खाँडलाई महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । उहाँमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।
यसअघि खाँड आफैं प्रहरीसमक्ष पुग्नुभएकाे चर्चा पनि चलेकाे थियाे । यस प्रकरणमा नाम जाेडिएपछि खाँडले आफू संलग्न नरहेकाे भन्दै विज्ञप्ति समेत जारी गर्नुभएकाे थियाे ।
शरणार्थी प्रकरणमा कांग्रेस नेतृ तथा खाँडकी श्रीमती मञ्जु खाँड र कांग्रेस नेृत तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाकाे पनि नाम मुछिएकाे छ ।
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले मंगलबार काठमाडाैंकाे टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्रेको थियो ।
यस प्रकरणमा यसअघि इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परिसकेका छन् ।
यस पक्ररणमा पक्राउ पुर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस