नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ
काठमाडाैं । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १० जना भारतीय नागरिकलाई शनिबार पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता, ३९ वर्षीय गोपाल गुप्ता छन्, ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता र गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता छन् । कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्तालाई पनि प्रहरीले पक्रेकाे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएकाे हाे ।
उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही, बारा, पर्सा लगायतबाट जारी गरेको नागरिकता लिएका अनुसन्धानबाट खुलेकाे उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिनुभयाे ।


प्रतिकृया दिनुहोस