शान्ति स्थापनामा नेपाली सेनाको भूमिकाकाे कारण विश्वले नेपालको इज्जत गर्न थालेको छ : प्रभुराम शर्मा
काठमाडौैं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले देशको सुरक्षाको साथै विकास निर्माण, विपतमा उद्धार, पर्यावरण संरक्षण र विश्व शान्ति स्थापनामा नेपाली सेनाको महत्पूर्ण भूमिका रहेको बताउनुभएको छ ।
मंगलबार रामेछापको मन्थलीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले नेपाली सेनाको १० प्रतिशत बढी जनशक्ति वातावरण संरक्षणको काममा खटिएको बताउनुभयो । वातावरण संरक्षणमा नेपाली सेनाको जस्तो संलग्नता विश्वका अन्य देशको सेनामा कमै भएको उहाँले प्रष्ट पार्नुभयो ।
विश्व शान्ति स्थापनामा पनि नेपाली सेनाको उल्लेख्य भूमिका रहेको उहाँले बताउनुभयो । विश्वमा शान्ति स्थापनाको लागि शान्ति सेनामा काम गर्ने देश मध्ये नेपाल दोस्रो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । ‘यसले विश्वले नेपालको इज्जत गर्न थालेको छ’, शर्माले भन्नुभयो ।
सुसंगठित सेना नै राष्ट्रिय सुरक्षाको आधार भएको उहाँले प्रष्ट पार्नुभयो । सेना बलियो हुनु भनेको राष्ट्र सुरक्षा हुनु भएको उहाँले बताउनुभयो ।
शर्माले सेनामा काम गर्दा सिकेको सिपलाई समाजमा प्रयोग गर्न पूर्व सैनिकलाई आग्रह गर्नुभयो । नेपाली जनताको स्तर अभिवृद्धि गर्न पूर्व सैनिकहरूको महत्त्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । पूर्व सेनाले गरेको असल कामले नेपाली सेनाको छवि उच्च हुने र पूर्व सेनाले गरेको सानो कमजोरीले पनि नेपाली सेनाका छवि धुमिल हुने तर्फ सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
नेपाली सेनाको कल्याणकारी कोष मार्फत पूर्व सैनिक र उनीहरूका परिवारका लागि विभिन्न सहयोग भइरहेको उहाँले बताउनुभयो । त्यो सहयोग लिन पनि उहाँले पूर्व सैनिक र उनीहरूका परिवारलाई आग्रह गर्नुभयो ।
कल्याणकारी कोषको रकमलाई पारदर्शी बनाउनु पर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कोषमा लगानी सहित ७४ अर्ब रुपैँया रहेकामा भर्खरै ३ अर्ब रुपैँया थपिएको उहाँले जानकारी दिनुभयो । कोषबाट १० लाख बढी हिताधिकारीले सेवा लिइरहेका उहाँले बताउनुभयो ।
कल्याणकारी कोषको रकमको ठुलो हिस्सा शिक्षा क्षेत्रमा लगानी भएको उहाँले जानकारी दिनुभयो । सेनाको मेडिकल, कृषि तथा पशु स्वास्थ्य कलेज सञ्चालनमा रहेकामा अब इञ्जिनियरिङ कलेज समेत सञ्चालनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । सैनिक स्कुलमा पढ्न नपाउने सैनिक परिवारका ३० हजार बढी बालबालिकालाई वार्षिक छात्रवृत्ति दिँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।
शिक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि सेनाले ठुलो लगानी गरेको उहाँले जानकारी दिनुभयो । सैनिक अस्पताल स्थापना गरी सबै प्रदेशबाट सेवा प्रवाह गरिरहेका र ५ लाखको स्वास्थ्य बिमालाई बढाएर ७ लाख पुर्याइएको उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस