• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

कृषि विकास बैंक घोटालामा संलग्‍न आठ विरुद्ध मुद्दा

सनराइज खबर संवाददाता

काठमाडौं । कृषि विकास बैंक घोटालामा संलग्‍न स्वयम्भु शाखाका तत्कालिन अधिकृत केदारप्रसाद गौतमसहित आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सो बैंकका ब्रान्च मेनेजर भरतबहादुर बानियाँसहित आठ जना विरुद्ध मुद्दा दायर गरेको हो । 

केदारप्रसादले भरतबहादुरसँग मिलेर झुटा विवरण पेश गर्दै नक्कली नागरिकता प्रयोग गरी ३३ करोड ९३ लाख घोटाला गरेको अख्तियारले जनाएको छ । 

आयोगले आठैजनालाई जनही ३३ करोड ९३ लाख बिगो रकम कायम गरेर सो रकम असुल गर्न मागदाबी गरेको छ ।  

‘कोर बैंकिङ सिस्टम’ को दुरुपयोग गरेर रेमिटबाट आएको फर्जी कारोबार देखाइ केदारप्रसादले तेजबहादुर थापाको नामबाट अन्य विभिन्‍न शाखाबाट भुक्तानी लिने गरेका थिए । सो कामको लागि उनले तेजबहादुर थापाको नामबाट नक्कली नागरिकता समेत बनाएका थिए । 

केदारप्रसादले बैंकबाट अनियमित तरिकाले निकालेको रकमबाट उनकी श्रीमती सम्झना पोखरेल गौतमले बैंकको कर्जा तिर्ने र बैंकिङ कारोबार गर्ने गरेकी थिइन् । 

यस्तै गौतमले अवैध रुपमा कमाएको पैसा लुकाउन सहयोग गर्ने उनकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतम विरुद्ध पनि मुद्दा दायर गरिएको छ । यस्तै सहयाेगीकाे भूमिकामा रहेका सूर्यबहादुर लिम्बु,  सुमन भुजेल र सन्दिप गुप्ता अख्तियारले मुद्दा दायर गरेको छ । गुप्ताले केदारप्रसादले निकालेको पैसा व्यवस्थापनमा सहयाेग गरेका थिए ।  

यस्तै ती पैसा व्यवस्थापन गर्न भारतमा बसेर भुमिका खेल्ने कृष्णहरी थापा विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

प्रतिकृया दिनुहोस