• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सुरक्षाकर्मीका लागि आवश्यक स्राेतसाधनकाे व्यवस्था गर्न सरकार प्रतिबद्ध : प्रम प्रचण्ड

खबर स‌ंवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

२२औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको सीमा सुरक्षार्थ उत्तर-दक्षिण, पूर्व-पश्चिम सबैतिर परिचालन गर्न र त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयाे ।

सशस्त्र प्रहरीले राजस्व संकलनमा पुर्‍याएको सहयोगदेखि आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कामको उहाँले प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास लगायत सामाग्री तथा जनशक्तिका लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने बताउनुभयाे । उहाँले अनुशासित, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन पनि दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दिर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा विशिष्ठ योगदान पुराएको भन्दै ज्ञानेन्द्रराज राइलाई ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मानित गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो । 

प्रतिकृया दिनुहोस