फर्जी लाइसेन्स प्रकरण : डीएसपीसहित ३८ कर्मचारी विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियारले अहिलेसम्मकै धेरै संख्याका कर्मचारीलाई एकमुष्ट मुद्दा चलाएको छ । अख्तियारले यातायात व्यवस्था कार्यालयका उपसचिव तहका कर्मचारीहरु सहित ३८ जनालाई एउटै प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ट्रायल परीक्षा फेल भएका १ हजार २ सय ८४ जनालाई सवारी लाइसेन्स दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा यातायात कार्यालय बाग्मतीका तत्कालीन प्रमुख सहित ३८ जना छन् ।
आयोगले आइतबार उप–सचिवहरु आनन्द केशरी पोखरेल, बावुलाल रेग्मी, धर्मराज ढुंगाना, नेपाल प्रहरीका डिएसपी नवराज थापा र प्रहरी इन्स्पेक्टर मुरारी मिश्र सहित ३८ जना सरकारी अधिकारी बिरुद्ध मुद्धा दायर गरेको हो ।
०६९ मा उप–सचिव आनन्द केशरी तत्कालीन सवारी चालक अनुमतिपत्र बाग्मतीमा प्रमुख थिए । उनले ट्राफिक महाशाखाबाट लाइसेन्स परीक्षा गराउन खटिएका डिएसपी नवराज थापा सहितसँगको मिलेमतोमा आर्थिक लाभ लिँदै लाइसेन्स बाँडेको आयोगले जनाएको छ ।
०६९ वैशाख, जेठ र असारमा प्रयोगात्मक परिक्षा (ट्रायल) फेल भएका १ हजार २ सय ८४ जनाको नतिजा उल्टाएर पास बनाइ उनीहरुले लाइसेन्स दिएका थिए ।
सो समूहले जारी गरेको लाइसेन्समध्ये नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालय अभिलेख समेत नष्ट गरिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
त्यसरी जारी गरिएका लाइसेन्सको राजस्व समेत नलिई राजस्व समेत चुहावट गरेको अभियोग उनीहरुमाथि लागेको छ ।
अख्तियारले उनीहरुलाई जरिवाना र कैद सजाय गर्न विशेष अदालतमा मागदावी गरेको छ ।


प्रतिकृया दिनुहोस