बेढी पढाऊ बेटी बचाऊ कार्यक्रममा १० कराेड ३३ लाख रुपैयाँ भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा
काठमाडाैं । मधेश प्रदेशकाे 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रमको साइकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ अनियमितता भएकाे ठहरसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रमकाे साइकल खरिदमा अनियमितता भएको ठहरसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बुधबार विशेष अदालत काठमाडाैंमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।
१९ करोड ५३ लाख रुपैयाँमा २७ हजार २६२ साइकल खरिद गर्दा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सीडीई, सह-लेखापालसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ ।
अख्तियारले तत्कालीन प्रदेश सचिव भुसालसहित उपसचिवस्तरका सिनियर डिभिजनल इञ्जिनियर भगवान झा, सहलेखापाल राजाराम मण्डल, जिन्सी शाखा प्रमुख अधिकृत छैठौं राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहन कुमार दास र साइकल बिक्रेता ओमसत्य साई प्रालि वीरगञ्जका प्रबन्ध निर्देशक रेनु अग्रवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएकाे भन्दै आयाेगमा उजुरी परेकाे थियाे । साे विषयमा अनुसन्धान गर्दा भ्रष्टाचार भएकाे देखिएकाे आयाेगले जनाएकाे छ । अख्तियारले तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई भगवान् झा माथि समान १० करोड ३३ लाख सय ७५८ रुपैयाँ बिगोसहित कैद सजाय माग गरेकाे छ ।
सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहन कुमार दासमाथि पनि कैद सजाय र जरिबाना माग दाबी गरिएकाे अख्तियारले जनाएकाे छ । अख्तियारले ओम सत्य साईकी अग्रवालमाथि पनि १० करोड ३३ लाख सात सय ५८ रुपैयाँ मागदाबी गरेकाे छ ।
अख्तियारले बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र सदस्य विरुद्ध पनि मुद्दा दायर गरेकाे छ । बोलपत्र मूल्यांकन समितिको अध्यक्ष बनेका उपसचिव दिलिपकुमार प्रधान, सदस्य सचिव रहेका आठौ तहका अधिकृत सुरेन्द्रकुमार कर्ण र सदस्य सहलेखापाल राजाराम मण्डलले साइकल खरिदको झुटो प्रतिवेदन तयार गरी अनियमितता गरेकाे ठहरसहित मुद्दा दायर भएकाे छ ।


प्रतिकृया दिनुहोस