फतुवा विजयपुरका मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
१८ जनप्रतिनिधि र ३ जना प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।
फतुवा विजयपुरले आर्थिक वर्ष २०७५-७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्याएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा नगरप्रमुख यादवसहित २१ जनाविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारले जनाएकाे छ ।
फतुवा विजयपुरका तत्कालीन तथा वर्तमान नगरप्रमुख गाेपालसहित तत्कालीन उपप्रमुख कान्तीदेवी, तत्कालीन वडाध्यक्षहरु वडा नम्बर-१ का तत्कालीन वडाध्यक्ष सञ्जय प्रसाद, २-का भविछन राय यादव, ३ का दिपनारायण साह, ५ का तत्कालीन तथा हालका वडाध्यक्ष शेख एजाज अहमद, ६ का हिरा राय यादव र ८ का तत्कालीन वडाध्यक्ष तथा वर्तमान नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार विरुद्ध मुद्दा दायर भएको छ ।
वडा नम्बर-९ का दिपनारायण चौधरी, १० का योगेन्द्र प्रसाद चौधरी, ११ का तत्कालीन तथा वर्तमान अध्यक्ष ज्ञानेन्द्र चौधरी, नगर कार्यपालिकाका तत्कालीन सदस्यहरु लक्ष्मण साह कानु, सुन्दरी माझी, फुलकुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह, रबिन्द्र कुमार निधि र ७ वडाका वडासदस्य जिरनीदेवी विरुद्ध पनि साेही मुद्दा दर्ता भएकाे अख्तियारले जनाएकाे छ ।
लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिकाे रोहबरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा गिट्टी र बालुवाको ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएको थियो । तर उनीहरुले ०७५ पुस १५ गते लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको निर्णय कार्यान्वयन नगराएको तथा वोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै संकलन गरेको अख्तियारकाे अनुसन्धानबाट खुलेकाे छ ।
०७५ फागुन १७ गते नगर कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता गर्ने निर्णय गरेकाले नगरपालिकाको आन्तरिक आयमा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ नोक्सानी भएको हो । साे निर्णय गर्ने जनप्रतिनिधिविरुद्ध हानी नोक्सानी भएको रकम बराबर बिगो कायम उनीहरुबाट असुल गर्न माग गरिएको छ ।


प्रतिकृया दिनुहोस