• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एसपीपीसम्बन्धी कुनै पनि सम्झौता भएको छैन : नेपाली सेना

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली सेनाले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सेनालाई जोडेर आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अमेरिकी सेनासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नगरिएकाे नेपाली सेनाले बुधबार विज्ञप्तिमार्फत प्रष्ट पारेकाे छ । 'एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको जानकारी गराइन्छ'- विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीसी सम्बन्धी सम्झौता हुन लागेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला सेनाले विज्ञप्ति निकालेर प्रक्रिया नै नभएकाे बताएकाे हाे ।

नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिमा सेना सचेत रहेकाे पनि विज्ञप्तिमा उल्लेख छ । 'नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनीतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्नेगरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ'- विज्ञप्तिमा लेखिएकाे छ ।

प्रतिकृया दिनुहोस