अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख फ्लिन काठमाडाैंमा
काठमाडाैं । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन काठमाडाैं आइपुग्नुभएको छ ।
नेपालकाे चार दिन औपचारिक भ्रमणका लागि फ्लिन बिहीबार दिउँसाे काठमाडाैं आइपुग्नुभएकाे हाे । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो ।
फ्लिनले भोलि सैनिक मुख्यालय जंगी अड्डाकाे भ्रमण गर्ने र प्रधानसेनापति शर्मासँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेकाे नेपाली सेनाले जनाएकाे छ । नेपाल भ्रमणका क्रममा फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्च पदस्थ व्यक्तिसँग पनि भेट्नुहुने बताइएकाे छ ।
जेनरल फ्लिन शनिबार बिहान सगरमाथा आधार शिविरको भ्रमणमा जाने र आइतबार बिहानै पाँचखालस्थित सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ । साेही दिन उहाँ काठमाडौंस्थित शिवपुरीमा रहेको सेनाको कमाण्ड एण्ड स्टाफ कलेज पनि जानुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा अमेरिका भ्रमण जानुअघि भएकाे प्लिनकाे भ्रमणलाई निक्कै महत्वसाथ हेरिएकाे छ । प्रधानमन्त्री अमेरिका जानुअघि प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जानुहुने बताइएकाे छ ।
यद्यपि नेपाली सेनाले भने प्लिनकाे भ्रमणको मूल उद्देश्य दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यसाथ भएकाे जनाएकाे छ ।


प्रतिकृया दिनुहोस