सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी, आजै दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आजको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बन्नुभएका केसीलाई आजै गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्नबाट समेत सुशोभन गर्नुभयो ।
गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनु भएकोमा उहाँलाई बधाई दिनु हुँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा साङ्गठानिक सुदृढीकरण र वृत्ति विकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
विसं २०२३ साल भदौ १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा जन्मनु भएका सशस्त्र प्रहरी महानिरीक्षक केसी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी सेवाबाट अनिवार्य अवकास लिनुभएकाले सरकारले केसीलाई आज महानिरीक्षकमा पदोन्नति गरेको हो ।
–रासस


प्रतिकृया दिनुहोस